News Desk
सिन्धुलीको कमलामाई नगरपालिका–४ बीपी नगरकी ३२ वर्षीया सुशीला घिसिङ बम्जनको हत्या प्रकरणमा पक्राउ परेका आरोपितमाथि अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मृतक सुशीलाका विदेशमा रहेका श्रीमानको भूमिकासमेत शङ्कास्पद देखिएको भन्दै माइती पक्षले उठाएको दाबीका आधारमा त्यस कोणबाट पनि अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ। यसैबीच, सुशीलाका ससुरा ६५ वर्षीय दुर्गामान बम्जनविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको र हाल उनी प्रहरीको निगरानीमै उपचाररत रहेको जानकारी दिइएको छ।
प्रहरीले नियोजित हत्याको आरोपमा सुशीलाकी नन्द ३५ वर्षीया मीना बम्जन र सासु ६० वर्षीया मायारानी बम्जनलाई पक्राउ गरी विस्तृत अनुसन्धान गरिरहेको छ। प्रारम्भिक बयानमा नन्द मीनाले घटनामा आफ्नो संलग्नता स्वीकार गर्दै आमाको साथ रहेको उल्लेख गरेकी छन्।
रोजगारीका सिलसिलामा सुशीलाका श्रीमान पछिल्ला दुई वर्षदेखि दक्षिण कोरियामा रहेको बताइएको छ। मृतकका बाबु प्रेमबहादुर घिसिङले नन्द, सासु र ससुराले मिलेर छोरीको हत्या गरेको आरोप लगाउँदै किटानी जाहेरी दिएका छन्।
घटनापछि सिलबन्दी गरिएको घर सामान निकाल्ने बहानामा खोलिएको भन्दै स्थानीयवासी आक्रोशित बनेका थिए। बिहीबार स्थिति तनावग्रस्त बनेपछि तोडफोड र आगजनीको प्रयाससमेत भएको थियो। भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरे पनि अवस्था सामान्य नभएपछि रातभर कर्फ्यू लगाउनुपरेको प्रहरीले जनाएको छ।