News Desk
सरकारले वैदेशिक रोजगारीका सिलसिलामा इराकमा कार्यरत रही बिदामा नेपाल आएका नेपाली कामदारको समस्यालाई ध्यानमा राख्दै उनीहरूलाई श्रम स्वीकृति उपलब्ध गराउने निर्णय गरेको छ। शुक्रबार सम्पन्न मन्त्रिपरिषद् बैठकले इराकको आधिकारिक भिसा र रेसिडेन्सी कार्ड भएका नेपाली नागरिकलाई आवश्यक प्रक्रिया पूरा गरेपछि श्रम स्वीकृति दिने व्यवस्था गर्ने निर्णय गरेको हो।
यसअघि इराकलाई वैदेशिक रोजगारीका लागि प्रतिबन्धित वा जोखिमयुक्त मुलुकको सूचीमा राखिएको कारण त्यहाँबाट फर्किएका कामदारहरूले श्रम स्वीकृति लिन पाएका थिएनन्। सरकारको पछिल्लो निर्णयले इराकमा कानुनी रूपमा कार्यरत रही हाल बिदामा नेपाल आएका वा पुनः फर्किन चाहने कामदारलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।
श्रम स्वीकृति प्राप्त गर्न कामदारले आफ्नो सक्कल रेसिडेन्सी कार्ड र त्यसको प्रतिलिपिसहित वैदेशिक रोजगार विभागमा आवेदन दिनुपर्नेछ।
सरकारले इराकमा कार्यरत नेपालीहरूको रोजगारीलाई सुरक्षित गर्न र उनीहरूलाई वैधानिक दायरामा ल्याउने उद्देश्यले यो निर्णय गरेको जनाएको छ। इराकमा उल्लेखनीय सङ्ख्यामा नेपाली कामदार प्रतिष्ठित कम्पनीहरूमा कार्यरत छन्। श्रम स्वीकृति नपाउँदा उनीहरूले रोजगारी गुमाउने जोखिम बढिरहेको अवस्थामा सरकारको यो कदमले अवैध मार्गबाट इराक जानुपर्ने बाध्यतालाई कम गर्न र त्यहाँ कार्यरत नेपालीहरूको तथ्याङ्क सरकारी अभिलेखमा समेट्न सहयोग पुग्ने विश्वास गरिएको छ।