रवि लामिछाने र बालेन्द्र शाहबीच बृहत् राजनीतिक एकताको सम्झौता
News Desk
Dec-28 , 2025 तारिख 06:57 बिहान

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच बृहत् राजनीतिक एकताको सम्झौता भएको छ। भ्रष्टाचार र कुशासनविरुद्ध नवयुवाहरूले थालेको आन्दोलनको अपनत्व लिँदै दुवै पक्षले घाइते तथा शहीद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्।

सम्झौताअनुसार समुन्नति र सामाजिक न्यायलाई राष्ट्रिय उद्देश्यका रूपमा अघि बढाउँदै गहिरा नीतिगत, संस्थागत र संरचनात्मक सुधारमार्फत आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम–आय भएको राष्ट्र बनाउने मार्गचित्र इमान्दारीपूर्वक कार्यान्वयन गर्ने सहमति भएको छ। यसले आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासलाई प्राथमिकता दिने उल्लेख गरिएको छ।

बृहत् एकतापछि गठन हुने राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहनेछ। पार्टीको झण्डा साविककै निलो पृष्ठभूमिमा बीचमा सेतो गोलाकार र त्यसको केन्द्रमा निलो रङ्गको घण्टी रहनेछ भने चुनाव चिन्ह ‘घण्टी’ नै कायम हुनेछ। पार्टीको केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने जनाइएको छ।

सम्झौताअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहनेछन् भने आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन्द्र शाह रहनेछन्। पार्टी संगठनलाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता तथा अनुभवी विज्ञहरूको समुचित समायोजन गरिने र जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मानिने उल्लेख छ।

आसन्न आमनिर्वाचन लगत्तै यस सम्झौताबमोजिम राष्ट्रिय स्वतन्त्र पार्टीसम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गरिनेछ। साथै, लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा गोलबद्ध हुन अन्य सुसंस्कृत र परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह तथा व्यक्तिहरूलाई आह्वान गर्ने सहमति पनि भएको छ।