फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका १ करोड ८९ लाख मतदाता
News Desk
Dec-28 , 2025 तारिख 12:54 बेलुका

काठमाडौँ | आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक करोड ८९ लाख तीन हजार ६८९ जना मतदाता अन्तिम सूचीमा समावेश भएका छन्। निर्वाचन आयोगले अन्तिम मतदाता नामावली सार्वजनिक गर्दै उक्त विवरण जानकारी गराएको हो।

अन्तिम नामावलीअनुसार ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र अन्य २०० जना मतदाता रहेका छन्। मतदाताहरूले आफ्नो नाम सहजै जाँच गर्न सकून् भनी आयोगले अन्तिम मतदाता नामावली आफ्नो वेबसाइटमा समेत प्रकाशन गरेको छ।

मतदाता नामावली ऐन, २०७३ को दफा २० अनुसार आयोगले शनिबार अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्णय गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो। आयोगका अनुसार आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने नागरिकको विवरणसमेत समेटेर नामावली अद्यावधिक गरिएको हो।

२०७९ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कुल मतदाता संख्या एक करोड ७९ लाख ८८ हजार ५७० रहेको थियो। यसपटक २०८२ सालमा त्यो संख्या नौ लाख १५ हजार ११९ ले वृद्धि भएको आयोगले जनाएको छ। पुरुष मतदाता पाँच लाख २२ हजार ५५२, महिला मतदाता तीन लाख ९२ हजार ५५२ र अन्य मतदाता १५ ले बढेका छन्।

निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र तोकिएको छ। यो संख्या २०७९ सालको निर्वाचनको तुलनामा मतदानस्थल ७५ र मतदान केन्द्र ८८५ ले बढी रहेको आयोगले स्पष्ट पारेको छ।