आगो, हिटर र गिजर प्रयोग गर्दा विशेष सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
News Desk
Dec-29 , 2025 तारिख 12:43 बेलुका

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडो मौसममा आगो, हिटर र गिजर प्रयोग गर्दा विशेष सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार सावधानी नअपनाउँदा जाडोयाममा गम्भीर दुर्घटना हुन सक्ने जोखिम हुन्छ।

आगो ताप्दा वा तातो बनाउने उपकरण चलाउँदा कोठामा हावा आवतजावत हुने व्यवस्था मिलाउन र कोइलाजन्य इन्धन सकेसम्म प्रयोग नगर्न मन्त्रालयले सुझाएको छ। साथै आगो वा हिटर नजिक कागज, कपडा जस्ता सजिलै जल्ने वस्तु नराख्न र प्रयोगपछि आगो पूर्ण रूपमा निभाउन आग्रह गरिएको छ।

हिटर प्रयोग गर्दा बीच–बीचमा बन्द गर्न, सुत्नुअघि अनिवार्य निभाउन तथा गिजरको मुख्य यन्त्र बाथरुम बाहिर खुला स्थानमा जडान गर्न मन्त्रालयले अनुरोध गरेको छ। गिजर प्रयोग गर्दा लामो समयसम्म बन्द बाथरुममा नबस्न पनि सबैलाई सचेत गराइएको छ।