News Desk
गोरखाको दुर्गम क्षेत्रमा रहेको रुन्चेत गाउँ पछिल्ला तीन दिनदेखि विद्युत सेवाबाट वञ्चित भएको छ । स्थानीय रुन्चेतखोला लघुजलविद्युत आयोजनामा प्राविधिक समस्या देखिएपछि धार्चे गाउँपालिका २ अन्तर्गतका २५२ भन्दा बढी घरधुरीमा विद्युत आपूर्ति ठप्प भएको स्थानीय सीताराम गुरुङले जानकारी दिए ।
उनका अनुसार उक्त गाउँमा केन्द्रीय विद्युत प्रसारण लाइन नपुगेकाले स्थानीय लघुजलविद्युत आयोजनामै पूर्ण रूपमा निर्भर रहनु परेको छ । ‘लघुजलविद्युतको जेनेरेटरमा समस्या आएपछि तीन दिनदेखि गाउँ अन्धकारमा परेको छ,’ उनले भने ।
विद्युत अवरुद्ध भएपछि गाउँलेहरू रातको समय अँगेनाको आगोको उज्यालोमा दैनिक काम गर्न बाध्य भएका छन् । ‘बिजुली आएपछि टुकी बाल्ने चलन हराएको थियो,’ गुरुङले भने, ‘अहिले मट्टीतेल पनि पाइँदैन, बिजुली पनि छैन । कोही–कोहीले ब्याट्रीबाट चल्ने टर्च प्रयोग गरेका छन्, तर धेरैजसो अँगेनाको उज्यालोमै रात बिताइरहेका छन् ।’
विद्युत सेवा ठप्प हुँदा सबैभन्दा बढी असर विद्यार्थीहरूलाई परेको छ । राति पढ्न-लेख्न कठिनाइ भएको र मोबाइल चार्ज गर्न नपाउँदा अधिकांशको मोबाइल बन्द अवस्थामा रहेको गुरुङले बताए । ‘मैले स्वास्थ्यचौकीको सोलारबाट मोबाइल चार्ज गर्न पाएँ, नत्र सबैको मोबाइल स्विच अफ नै छ,’ उनले भने, ‘मिल नचल्दा कोदो र मकै पिस्नसमेत समस्या भएको छ ।’
हाल १०० किलोवाट क्षमताको रुन्चेतखोला लघुजलविद्युत आयोजनाबाट २५२ घरधुरी लाभान्वित छन् । जेनेरेटर मर्मतका लागि प्राविधिकहरू बुटवलबाट आउने क्रममा रहेको जानकारी पाएको भन्दै गुरुङले अब केही दिनभित्रै विद्युत सेवा पुनः सञ्चालन हुने आशा व्यक्त गरे ।