News Desk
काठमाडौँ । एएमएस म्युजिक एण्ड इन्टरटेन्मेन्ट प्रा.लि.को आयोजनामा ‘एभरेस्ट टुरिज्म अवार्ड २०२६’ तथा ‘वर्ल्ड पीस समिट’ सम्बन्धी प्रेस मिट काठमाडौँमा सम्पन्न भएको छ। काठमाडौँको एभरेस्ट होटल, बानेश्वरमा आयोजित प्रेस मिटमा कार्यक्रमको उद्देश्य, अवधारणा, संरचना र आगामी गतिविधिबारे जानकारी गराइएको थियो।
प्रेस मिटलाई सम्बोधन गर्दै एएमएस म्युजिक एण्ड इन्टरटेन्मेन्ट प्रा.लि.की चेयरपर्सन सत्यकला तामाङ लामाले एभरेस्ट टुरिज्म अवार्ड २०२६ नेपालको पर्यटन, कला, संस्कृति र हिमाल संरक्षणलाई एउटै मञ्चमा जोड्ने अभियान भएको बताइन्। उनले पर्यटन बिना हिमाल सुरक्षित रहन नसक्ने र हिमाल सुरक्षित नभएसम्म नेपालको पहिचान दीर्घकालीन हुन नसक्ने उल्लेख गर्दै यस कार्यक्रमले सोही सन्देश बोकेको बताइन्।
उनका अनुसार अवार्डको दोस्रो संस्करणमा पर्यटन, पत्रकारिता, कला–संस्कृति, सामाजिक सेवा लगायत विभिन्न क्षेत्रमा राष्ट्रका लागि योगदान पुर्याएका व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान गरिनेछ। पहिलो संस्करणले समाजमा सकारात्मक सन्देश दिएको उल्लेख गर्दै उनले यसपटक अझ प्रभावकारी र प्रेरणादायी बनाइने स्पष्ट पारिन्।
कार्यक्रमका प्रमुख सल्लाहकार नाम्गेल शेर्पाले एभरेस्ट टुरिज्म अवार्ड २०२६ केवल अवार्ड वितरणमा सीमित नरही पर्यटन, शिक्षा, वातावरण संरक्षण, नीति निर्माण, अनुसन्धान र सामाजिक सेवामा योगदान पुर्याउने व्यक्तित्वलाई उचित सम्मान गर्ने उद्देश्य रहेको बताए। उनले लाइफटाइम अचिभमेन्ट अवार्ड, उत्कृष्ट संस्था सम्मान र विशेष योगदान सम्मान जस्ता विधाहरू पनि समावेश गरिएको जानकारी दिए।
त्यस्तै, म्यानेजिङ डाइरेक्टर फुर्वा ग्याल्बो मोक्तानले वर्ल्ड पीस समिटको महत्व र आवश्यकतामाथि प्रकाश पार्दै आजको विश्व जलवायु संकट र असमानताबाट गुज्रिरहेको अवस्थामा शान्ति, वातावरण संरक्षण र दिगो विकासलाई एकीकृत रूपमा अघि बढाउन समिट आवश्यक भएको बताए। समिटमा विभिन्न देशका पीस एम्बासडरहरूको सहभागिता रहने र हिमाल, वातावरण, पर्यटन, शिक्षा तथा संस्कृतिलाई विश्व शान्तिसँग जोडिने उनले बताए।
प्रेस मिटमा सल्लाहकार महेश किरातीले पनि कार्यक्रमको दीर्घकालीन प्रभावबारे धारणा राख्दै एभरेस्ट टुरिज्म अवार्ड २०२६ र वर्ल्ड पीस समिट केवल सम्मान र संवादमा सीमित नभई भविष्यका लागि सोच निर्माण गर्ने मञ्च भएको बताए।
आयोजकका अनुसार एभरेस्ट टुरिज्म अवार्ड २०२६ तथा वर्ल्ड पीस समिटको मुख्य समारोह आगामी मे २९ मा आयोजना गरिनेछ। मे २९ लाई अन्तर्राष्ट्रिय रूपमा महत्वपूर्ण दिनका रूपमा स्मरण गरिँदै सन् १९५३ मे २९ कै दिन मानव जातिले सगरमाथाको सफल आरोहण गरेको ऐतिहासिक तथ्यलाई समेत कार्यक्रमसँग जोडिएको जनाइएको छ।
एएमएस म्युजिक एण्ड इन्टरटेन्मेन्ट प्रा.लि.ले आगामी दिनमा पनि पर्यटन, शिक्षा, कला, संस्कृति, मनोरञ्जन र सामाजिक उत्तरदायित्वलाई जोड्ने यस्ता कार्यक्रमहरू निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएको छ।