६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
News Desk
Dec-31 , 2025 तारिख 12:16 बेलुका

आगामी फागुन २१ गते हुने तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरूले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेका छन्। आयोगका अनुसार बन्दसूची पेस गर्ने ६४ वटा राजनीतिक दलमध्ये ५४ वटा दलले आफ्नै निर्वाचन चिन्हमा र बाँकी १० वटा दलले चार वटा एकल चुनाव चिन्हमार्फत निर्वाचनमा सहभागी हुने गरी सूची दर्ता गराएका छन्।

नेपालको संविधानले व्यवस्था गरेअनुसार प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ जना र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना गरी कुल २७५ जना सदस्य निर्वाचित हुनेछन्।

यसैबीच निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि तय गरिएको राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारले पेस गर्नुपर्ने कागजपत्रको विवरण सार्वजनिक गरेको छ। आयोगका अनुसार उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावली ऐन, २०७३ अनुसार कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको प्रमाण पेस गर्नुपर्नेछ।

उम्मेदवारले १० हजार रुपैयाँ धरौटी जम्मा गरेको रसिद वा भौचर पनि पेस गर्नुपर्नेछ। महिला, दलित, अल्पसंख्यक समुदाय तथा आर्थिक रूपमा विपन्न उम्मेदवारका हकमा भने धरौटी रकममा ५० प्रतिशत छुट दिइने आयोगले जनाएको छ। आर्थिक रूपमा विपन्न उम्मेदवारले स्थानीय तहको सिफारिस पत्र समेत पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

यसका साथै उम्मेदवारले मतदाता नम्बर, सम्पत्ति विवरण, घर नम्बर, घर रहेको स्थान, जग्गा विवरण, संघीय कानुनअनुसार अयोग्य नभएको स्वघोषणापत्र, कुनै लाभको पदमा नरहेको स्वघोषणा, जिम्मेवारी वा निर्वाचित पदमा रहेकाले राजीनामा दिएको प्रमाण, तथा उम्मेदवार स्वयं वा प्रतिनिधि, प्रस्तावक वा समर्थकद्वारा हस्ताक्षर गरिएको मनोनयनपत्र पेस गर्नुपर्नेछ।

२०७९ सालको प्रदेशसभा सदस्य समानुपातिकतर्फको बन्दसूचीमा नाम समावेश भई पछि फिर्ता लिएको भए त्यससम्बन्धी कागजात पनि अनिवार्य रूपमा बुझाउनुपर्नेछ। साथै प्रस्तावक र समर्थक सम्बन्धित प्रदेशसभा सदस्य वा सो प्रदेशभित्रका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख वा उपप्रमुख समावेश भएको निर्वाचक मण्डलको मतदाता नामावलीमा सूचीकृत भएको प्रमाणसमेत पेस गर्नुपर्ने आयोगले जनाएको छ।

निर्वाचनको तयारी अन्तर्गत आयोगले सातै प्रदेशमा निर्वाचन अधिकृत तोकिसकेको छ भने आवश्यक निर्वाचन कार्यालयसमेत सञ्चालनमा ल्याइसकेको छ। उता राजनीतिक दलहरूले पनि उम्मेदवार छनोट प्रक्रिया तीव्र बनाउँदै प्रारम्भिक तयारीमा जुटिरहेका छन्।