आजदेखि इस्वी सम्वत् सन् २०२६ प्रारम्भ
News Desk
Jan-01 तारिख 06:58 बिहान

ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी सम्वत् सन् २०२६ प्रारम्भ भएको छ। येशु ख्रिस्टको जन्म वर्षलाई आधार मानेर पादरी ग्रेगोरियनले यो पात्रो प्रचलनमा ल्याएकाले यसलाई ग्रेगोरियन पात्रो भनिन्छ। यस अवसरमा ग्रेगोरियन पात्रोअनुसार चाडपर्व मान्नेहरूले एक–अर्कामा शुभकामना साटासाट गर्दै नयाँ वर्ष मनाइरहेका छन्।

इस्वी सम्वत् सौरमासमा आधारित पात्रो हो। यही कारणले केही आलोचकहरूले यसलाई पूर्ण रूपमा वैज्ञानिक नभएको दाबी गर्ने गरेका छन्। सम्वत् अध्ययनमा संलग्न डा. शास्त्रदत्त पन्तका अनुसार सौरमास र चन्द्रमासको समन्वयबाट वैदिक कालदेखि चलिआएको विक्रम सम्वत् जति वैज्ञानिक नदेखिए पनि इस्वी सम्वत्को प्रयोग अहिले विश्वभर व्यापक बन्दै गएको छ।

एक वर्ष ३६५ दिन ६ घण्टा ४९ मिनेट ६ सेकेन्डको हुने भए पनि साना एकाइले दैनिक गणनामा असर नगर्ने भएकाले सामान्यतः उल्लेख गरिँदैन। विक्रम सम्वत् अनुसार गणना हुने पात्रोमा यस असन्तुलनलाई मिलाउन तीन वर्षमा अधिकमासको व्यवस्था गरिएको छ। इस्वी पात्रोमा ‘लिप इयर’ मार्फत समायोजन गर्ने प्रयास भए पनि यस विषयमा पश्चिमा मुलुकमै एकरूपता कायम हुन सकेको छैन।

पछिल्ला वर्षहरूमा नेपालमा पनि अङ्ग्रेजी नयाँ वर्ष धुमधामसँग मनाउने चलन बढ्दै गएको छ। नयाँ वर्ष २०२६ को अवसरमा काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा लगायत पर्यटकको बाक्लो उपस्थिति रहने स्थानमा विभिन्न कार्यक्रम आयोजना गरी नयाँ वर्षको स्वागत भइरहेको छ।