News Desk
भदौ २३ र २४ गते भएका घटनाबारे अनुसन्धान गरिरहेको जाँचबुझ आयोगले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ। आयोगले औपचारिक रूपमा पत्र पठाउने प्रक्रिया अघि बढाएको जनाएको छ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जेनजी आन्दोलनसँग सम्बन्धित विषयमा ओलीसँग बयान लिने तयारी भइरहेको जानकारी दिए। उनले आवश्यक प्रक्रिया पूरा गरेर पत्र काटिने बताए।
आयोगले बोलाउँदा अध्यक्ष ओली उपस्थित नभए के गर्ने भन्ने सञ्चारकर्मीको प्रश्नमा कार्कीले “भोलिको विषय भोलि नै टुंग्याइन्छ” भन्दै अहिले नै निष्कर्षमा पुग्न नहुने प्रतिक्रिया दिए। साथै, पूर्वगृहमन्त्री रमेश लेखकको बयान भने पूरा भइसकेको उनले स्पष्ट पारे।
आयोग अध्यक्ष कार्कीले पछिल्लो पटक थपिएको म्यादभित्रै आयोगले आफ्नो प्रतिवेदन तयार गरी बुझाउने दाबी पनि गरे।