लेरु गाउँमा भएको आगलागीमा एक जना गम्भीर घाइते
News Desk
Jan-03 तारिख 06:37 बिहान

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-७ छेकम्पारस्थित लेरु गाउँमा भएको आगलागीमा एक जना गम्भीर घाइते भएका छन्। गए राति करिब ३ बजे भएको आगलागीमा स्थानीय ५४ वर्षीय तेन्जिङ वाङगेल लामा घाइते भएको छेकम्पारका अटु लामाले जानकारी दिए।

आगलागीका कारण घाइते लामाको अनुहार, घाँटी तथा दुवै हात जलेको चुमनुब्री गाउँपालिकाका स्वास्थ्य संयोजक प्रेम गुरुङले बताए। उनका अनुसार घाइतेको छेकम्पारमै प्राथमिक उपचार भइरहेको छ भने आजै बोकेर सिर्दिबास लैजाने तयारी गरिएको छ। छेकम्पारबाट सिर्दिबास पुग्न एक दिन पैदल यात्रा गर्नुपर्ने अवस्था छ।

उद्धारका लागि हेलिकोप्टरको माग गरिए पनि आर्थिक अभावका कारण पैदलै लैजानुपर्ने भएको स्थानीय अटु लामाले बताए। आगलागीबाट तेन्जिङ वाङगेल लामाको धन्सारमा राखिएको लत्ता–कपडा, अन्नपात, काठ दाउरा, चौरीको काँटी, जस्ता पाता, कृषि औजारलगायत सामग्री पूर्ण रूपमा जलेर नष्ट भएको जनाइएको छ। स्थानीयका अनुसार चुलोको आगो सल्किएर आगलागी भएको हो।