News Desk
गृहमन्त्री ओमप्रकाश अर्यालले गोकर्णेश्वरमा रहेको ‘राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती स्मारक’को स्थलगत अवलोकन गर्दै पार्कको वर्तमान अवस्था र व्यवस्थापनसम्बन्धी जानकारी लिनुभएको छ। आज पार्क परिसरमा पुगेर उहाँले त्यहाँ राखिएको सहिदहरूको नामावली, भौतिक संरचना तथा सञ्चालनको समग्र अवधारणाबारे स्मारक समिति अध्यक्ष सुदर्शन सिग्देलसँग छलफल गर्नुभएको हो।
अवलोकनका क्रममा गृहमन्त्री अर्यालले बृहत् शान्ति सम्झौतापछि घोषणा गरिएका सहिददेखि ‘जेनजी जनआन्दोलन’ पश्चात सहिद घोषित ४२ जना जेनजी सुशासन योद्धा तथा तीन जना अमर प्रहरीको नामसमेत पार्कमा समावेश गर्नुपर्ने विषयमा चासो व्यक्त गर्नुभएको थियो। उहाँले सहिदसम्बन्धी विगतका मन्त्रिपरिषद् निर्णयहरूका साथै जेनजी जनआन्दोलनमा शहादत प्राप्त युवाहरूको नामावली पनि सोही स्मारकमा राख्ने विषयमा गम्भीरतापूर्वक अध्ययन गरिने बताउनुभयो।
साथै, पार्क सञ्चालन र व्यवस्थापनका लागि स्मारक समितिले पेश गरेको ज्ञापनपत्रलाई अध्ययन गरी आवश्यक र उपयुक्त निर्णय लिने प्रतिबद्धता गृहमन्त्रीले व्यक्त गर्नुभएको छ।
स्मारक पार्क व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलका अनुसार हाल पार्कमा राज्यद्वारा घोषित दुई हजारभन्दा बढी सहिदहरूको नामावली राखिएको छ। तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालय खारेज भएपछि पार्क सञ्चालनका लागि स्पष्ट नीति र संरचना नहुँदा व्यवस्थापनमा अन्योल देखिएको भन्दै त्यसै सन्दर्भमा गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको उहाँले जानकारी दिनुभयो।