ठगीप्रति सतर्क रहन लण्डनस्थित नेपाली दूतावासको आग्र​ह​
News Desk
Jan-05 तारिख 06:30 बिहान

बेलायतमा ‘वर्क परमिट’को व्यवस्था मिलाइदिने भन्दै बढ्दै गएको ठगीप्रति लण्डनस्थित नेपाली दूतावासले गम्भीर ध्यानाकर्षण गराउँदै नेपाली समुदायलाई सतर्क रहन आग्रह गरेको छ।

दूतावासले जारी गरेको विज्ञप्तिमा कामका लागि प्रायोजक खोजिदिने प्रलोभन देखाएर नेपाली नागरिक ठगीमा पर्ने घटनाका उजुरी बढ्दै गएको उल्लेख गरिएको छ। विशेषगरी नेपालबाट बेलायत आउन इच्छुक व्यक्तिहरू यस्ता ठगीको बढी सिकार भएको दूतावासको भनाइ छ।

यसैगरी, बेलायतमै बसोबास गरिरहेका तर रोजगारीको खोजीमा रहेका केही नेपालीसमेत ठगीमा परेको गुनासो बढ्दै गएको जनाइएको छ। विज्ञप्तिमा कतिपय अवस्थामा ठगी गर्ने व्यक्ति नेपाली मूलका नै रहेको र कहिलेकाहीँ चिनजानका नेपालीमार्फत तेस्रो मुलुकका व्यक्तिसँग सम्पर्क गराई ठगीमा पारिएको तथ्यसमेत उजागर गरिएको छ।

दूतावासले यस्ता ठगीजन्य गतिविधि नेपाल र बेलायत दुवै मुलुकका कानुनअनुसार दण्डनीय अपराध भएको स्पष्ट पार्दै, पीडित भएमा नेपालका सम्बन्धित अनुसन्धान निकाय तथा बेलायतमा स्थानीय प्रहरी र नेशनल एन्टी–फ्रड नेटवर्क (एक्सन फ्रड) मा उजुरी दिन सुझाव दिएको छ।

बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले आवश्यक प्रमाणसहित दूतावासमा आउने पीडितलाई न्याय दिलाउन सहजीकरण गर्न दूतावास प्रतिबद्ध रहेको बताउनुभएको छ। समस्या परेका नेपाली नागरिकलाई दूतावासको आधिकारिक इमेलमार्फत वा +४४–७४०४९३९२७४ नम्बरमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ।