News Desk
निर्वाचन आयोगले ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ। आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुने मिति तय भइसकेको सन्दर्भमा, प्रतिनिधिसभा सदस्य ऐन, २०७४ को दफा ८ बमोजिम न्याय परिषद्को परामर्शमा कुल ८८ जनालाई मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका रूपमा नियुक्त गरिएको आयोगले जनाएको छ।
यसै क्रममा ३६ जना जिल्ला न्यायाधीशलाई जगेडामा रहने गरी मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका रूपमा नियुक्त गरिएको छ। यी सबै नियुक्ति यही पुस २५ गतेदेखि लागू हुने गरी गरिएको आयोगको भनाइ छ।
आयोगले नियुक्त भएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई आगामी माघ २ गतेदेखि आ–आफ्नो निर्वाचन क्षेत्रमा खटिन निर्देशन दिएको छ। साथै, सम्बन्धित निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी कार्यक्रम सञ्चालन गर्न समेत आयोगले आग्रह गरेको छ।
उल्लेखनीय छ कि २७५ सदस्यीय प्रतिनिधिसभामध्ये १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ। आगामी निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र प्रभावकारी रूपमा सम्पन्न गर्न आयोगले आवश्यक तयारीलाई तीव्रता दिएको जनाएको छ।