काठमाडौं जेसीज २०२४ की अध्यक्ष एन्जिला खड्का नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा निर्वाचित
News Desk
Jan-06 तारिख 12:15 बिहान

काठमाडौं: काठमाडौं जेसीज २०२४ की अध्यक्ष एन्जिला खड्का नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा निर्वाचित भएकी छन्। दूरदर्शी नेतृत्व, निडर निर्णय क्षमता र परिणाममुखी कार्यशैलीका कारण उनी जेसीज वृत्तमा एक प्रभावशाली तथा प्रेरणादायी नेतृका रूपमा स्थापित हुँदै आएकी छन्।

जनकपुरमा गत पुष ४ देखि ७ गतेसम्म सम्पन्न नेपाल जेसीजको ५२औँ राष्ट्रिय महाधिवेशनमा खड्काले कुल ८१८ मत प्राप्त गर्दै राष्ट्रिय उपाध्यक्ष पदमा विजय हासिल गरेकी हुन्।

खड्का काठमाडौं जेसीजकी ५४औँ शाखा अध्यक्ष हुन् भने, ५६ वर्षको इतिहासमा यो पद सम्हाल्ने दोस्रो महिला अध्यक्षका रूपमा उनले ऐतिहासिक उपलब्धि हासिल गरेकी छन्।

काठमाडौं जेसीजको अध्यक्ष कार्यकालमा खड्काले नीति निर्माण मात्र नभई प्रभावकारी कार्यान्वयनमार्फत सशक्त नेतृत्व प्रस्तुत गरिन्। बेथानचोक जेसीज र पनौती जेसीजसँगको सहकार्यमा बाढी प्रभावित क्षेत्रका सयौँ घरधुरीलाई राहत वितरण गर्नुका साथै जाजरकोट पुगेर ११० जना सुत्केरी महिला तथा नवजात शिशुहरूलाई खाद्यान्न र लत्ताकपडा सहयोग प्रदान गर्दै उनले नेतृत्व सेवा र कार्यबाट प्रमाणित हुनुपर्छ भन्ने उदाहरण प्रस्तुत गरेकी छन्।

यसै क्रममा, काठमाडौं जेसीजमा पुर्‍याएको उल्लेखनीय योगदान तथा राष्ट्रिय उपाध्यक्ष पदको उम्मेदवारीमा हासिल गरेको सफलताको कदर गर्दै काठमाडौं जेसीज २०२६ का नव-निर्वाचित कार्यसमितिले एन्जिला खड्कालाई विशेष सम्मान तथा औपचारिक रूपमा प्रशंसा व्यक्त गरेको छ। उक्त सम्मानले काठमाडौं जेसीजप्रतिको उनको समर्पण र राष्ट्रिय नेतृत्वमा उक्लिने क्षमतालाई पुनः पुष्टि गरेको छ।

उनको निरन्तर सक्रियता, संवेदनशील नेतृत्व र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताले जेसीज आन्दोलनलाई अझ सशक्त र प्रभावकारी बनाउने विश्वास गरिएको छ।