राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारको मनोनयन प्रक्रिया सुरु
News Desk
Jan-07 तारिख 11:40 बिहान

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारको मनोनयन प्रक्रिया सुरु हुँदैछ। निर्वाचन आयोगले आगामी माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। यस निर्वाचनमार्फत राष्ट्रियसभामा रिक्त हुन लागेको कूल १८ सदस्यको पद पूर्ति गरिनेछ।

आयोगले यसअघि पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको थियो। त्यसपछि मतदाता नामावलीमा दावी–विरोध परे/नपरेको यकिन गर्दै मङ्गलबार अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरिएको छ। आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारले मनोनयन पत्र दर्ता गर्न सक्नेछन्।

निर्वाचन तालिकाअनुसार पुस २४ गते उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्न सकिनेछ भने पुस २७ गते उम्मेदवारले चाहेमा आफ्नो नाम फिर्ता लिन पाउनेछन्। सोही दिन दिउँसो अन्तिम उम्मेदवार नामावली प्रकाशन गरिने आयोगले जनाएको छ।

यस्तै, पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ। मतदान भने आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने गरी तोकिएको छ। राष्ट्रियसभामा हाल रहेका १८ सदस्यको कार्यकाल फागुन २० गतेदेखि समाप्त हुँदैछ।

निर्वाचन आयोगले राष्ट्रिय जनगणना २०७८ का आधारमा मतदाता संख्या र मतभारसमेत सार्वजनिक गरिसकेको छ। राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाताको रूपमा सहभागी हुने व्यवस्था छ।