News Desk
काठमाडौँको शङ्खरापुर नगरपालिका ३ मा भएको बस दुर्घटनाले चार जनाको ज्यान लिएको छ। दुर्घटनामा परेर मृत्यु हुनेमध्ये ५५ वर्षीया शान्ति गुप्ताको पहिचान खुलेको छ भने अन्य मृतकको सनाखत हुन बाँकी रहेको छ।
बुधवार साँझ करिब ६ बजेको समयमा जर्सिङपौवाबाट साँखुतर्फ जाँदै गरेको बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस शङ्खरापुर–३ फेदी जङ्गल नजिक दुर्घटनाग्रस्त भएको हो। बस सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा करिब ४० जना यात्रु घाइते भएका छन्। घाइतेहरुलाई उद्धार गरी काठमाडौँका विभिन्न आठ वटा अस्पतालमा उपचारका लागि पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन भट्टराईले जानकारी दिनुभयो।
प्रहरीका अनुसार नेचर हब नामक संस्थाका कर्मचारी पिकनिक सकेर फर्किने क्रममा बस दुर्घटनामा परेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।