News Desk
ललितपुर । ललितपुर महानगरपालिका लेखा समितिको आयोजनामा लेखा तथा बेरुजु सम्बन्धी छलफल, अन्तक्रिया तथा तालिम कार्यक्रम सम्पन्न भएको छ। पुस २३ गते बुधबार सुनाकोठीस्थित महानगरको वडा नं. २७ को वडा कार्यालयमा उपभोक्ता समितिका पदाधिकारी, टोल विकास संस्थाका प्रतिनिधि तथा महिला समूहका पदाधिकारीहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा करिब ७० जनाको सहभागिता रहेको थियो।
लेखा समितिका संयोजक सरिता महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं. २७ का वडा अध्यक्ष कृष्णहरि महर्जन प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। सो अवसरमा संयोजक महर्जनले आफूले महिला समूहको नेतृत्व गर्दाको अनुभव राख्नुहुँदै त्यस समयमा लेखा प्रक्रिया बारे जानकारी नहुँदा विभिन्न समस्या भोग्नुपरेको उल्लेख गर्नुभयो। हाल महानगरपालिकाको लेखा समिति संयोजकको जिम्मेवारी सम्हाल्दै गर्दा उपभोक्ता समिति, टोल विकास संस्था तथा महिला समूहका पदाधिकारीहरूले भोग्दै आएका समस्याको समाधानका लागि यस्तो तालिम आयोजना गरिएको उहाँले बताउनुभयो।

प्रमुख अतिथि वडा अध्यक्ष महर्जनले तालिमका सहभागीहरूलाई प्रशिक्षकद्वारा प्रदान गरिएको तालिमका क्रममा सक्रिय रूपमा टिपोट गर्न र प्राप्त ज्ञानको व्यवहारिक प्रयोग गर्न आग्रह गर्दै तालिमलाई अवसरको रूपमा सदुपयोग गर्न अनुरोध गर्नुभयो। साथै उहाँले कार्यक्रम उपलब्धिमूलक र प्रभावकारी रहेको उल्लेख समेत गर्नुभयो।
कार्यक्रममा महानगरपालिकाका लेखा समिति सदस्यहरू अनुप घिमिरे र रुपेश थापा, वडा नं. २७ का वडा सदस्य एवम् महिला सदस्यहरूको उपस्थिति रहेको थियो। साथै महानगर आन्तरिक लेखा परीक्षण एकाइ प्रमुख वरिष्ठ अधिकृत प्रेमबहादुर थापा, वित्तिय व्यवस्थापन महाशाखाका लेखा अधिकृत भविष्य अर्याल र योजना कार्यान्वयन शाखा प्रमुख (अधिकृत आठौ) राजेन्द्र प्रसाद अधिकारीले सहभागीहरूलाई तालिम प्रदान गर्नुभएको थियो।

प्रशिक्षणका क्रममा लेखा अधिकृत भविष्य अर्यालले भुक्तानीका लागि आवश्यक कागजी प्रक्रिया कसरी पूरा गर्ने भन्ने विषयमा स्पष्ट पार्नुभएको थियो भने वरिष्ठ अधिकृत राजेन्द्रप्रसाद अधिकारीले कागजी प्रक्रियामा रित नपुग्दा बेरुजु देखिने हुनाले समस्या निम्तनेतर्फ सजक रहनुपर्नेमा समेत जोड दिनुभयो ।
तालिमका क्रममा वरिष्ठ अधिकृत थापाले सार्वजनिक निकायबाट हुने खर्चमा व्यवस्थित लेखा प्रणाली अनिवार्य रहेको जानकारी गराउँदै ऐन, नियम, कानुन तथा विधिको परिधिभित्र रहेर मात्र खर्च तथा भुक्तानी प्रक्रिया अघि बढाउनुपर्ने सन्दर्भ उल्लेख गर्नुभयो। साथै महानगरपालिकाबाट सहज रूपमा सम्झौता रकम प्राप्त गर्न तोकिएको प्रक्रिया र मापदण्ड पालना गर्नु अनिवार्य रहेको उहाँले स्पष्ट पार्नुभयो।
उहाँले तालिमको मुख्य उद्देश्य महानगरपालिकाको लक्ष्य, उद्देश्य तथा वार्षिक नगर विकास कार्यक्रमलाई नियमितता, मितव्ययिता, कार्यदक्षता र प्रभावकारितासहित कार्यान्वयन गर्न सहयोग पुर्याउँदै विकास निर्माण तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्दा बेरुजु नआउने अवस्था सिर्जना गर्नु तथा वित्तीय सुशासन कायम गर्नु रहेको बताउनुभयो।
कार्यक्रममा सहभागीहरूले केही नियम–कानुनबारे पर्याप्त जानकारी नहुँदा व्यवहारिक कठिनाइ हुने गरेकोलगायतका समस्या राखेका थिए। सहभागीहरूको जिज्ञासामा प्रशिक्षकहरूले जवाफ दिँदै समाधानका उपायबारे समेत जानकारी गराएका थिए।


