News Desk
ललितपुर । ललितपुर महानगरपालिका लेखा समितिको आयोजनामा लेखा तथा बेरुजु सम्बन्धी छलफल, अन्तक्रिया तथा तालिम कार्यक्रम सम्पन्न भएको छ। पुस २४ गते विहीवार सुनाकोठीस्थित महिला भवनमा उपभोक्ता समितिका पदाधिकारी, टोल विकास संस्थाका प्रतिनिधि तथा महिला समूहका पदाधिकारीहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा करिब ६५ जनाको सहभागिता रहेको थियो।
लेखा समितिका संयोजक सरिता महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं २६ का वडा अध्यक्ष सुरेश महर्जन प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। सो अवसरमा संयोजक महर्जनले लेखा प्रक्रिया बारे जानकारी नहुँदा विगतमा विभिन्न समस्याको सामना गर्नुपरेको बारे प्रकाश पार्नुहुँदै हाल ललितपुर महानगरपालिकाको लेखा समितिले उपभोक्ता समिति, टोल विकास संस्था तथा महिला समूहका पदाधिकारीहरूले भोग्दै आएका समस्याको समाधानका लागि लेखा तथा बेरुजु सम्बन्धी छलफल, अन्तक्रिया तथा तालिम कार्यक्रम आयोजना गरिएकोे बताउनुभयो।
प्रमुख अतिथि वडा अध्यक्ष महर्जनले तालिमका सहभागीहरूलाई प्रशिक्षकद्वारा प्रदान गरिने तालिमले लेखा तथा बेरुजु संबन्धी समस्या समाधानमा सहयोग पुग्ने औंल्याउनुहुँदै तालिमलाई अवसरको रूपमा सदुपयोग गर्न अनुरोध गर्नुभयो। साथै उहाँले कार्यक्रम उपलब्धिमूलक र प्रभावकारी रहेको उल्लेख गर्नुहुँदै यस्ता कार्यक्रमलाई निरन्तरता प्रदान गर्नुपर्नेमा जोड समेत दिनुभयो ।
कार्यक्रममा महानगरपालिकाका लेखा समिति सदस्यहरू अनुप घिमिरे र रुपेश थापा, वडा नं २६ का वडा सदस्य रजुन महर्जन, सरस्वती महर्जन, सुरेश महर्जन, वडा सचिव निरन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो। साथै महानगर आन्तरिक लेखा परीक्षण एकाइ प्रमुख वरिष्ठ अधिकृत प्रेमबहादुर थापा, प्रशिक्षक कनिष्ट कुमार भट्ट र योजना कार्यान्वयन शाखा प्रमुख (अधिकृत आठौ) राजेन्द्र प्रसाद अधिकारीले सहभागीहरूलाई तालिम प्रदान गर्नुभएको थियो।

प्रशिक्षणका क्रममा प्रशिक्षक कनिष्ट कुमार भट्टले भुक्तानीका लागि आवश्यक कागजी प्रक्रिया कसरी पूरा गर्ने भन्ने विषयमा स्पष्ट पार्नुभएको थियो भने वरिष्ठ अधिकृत राजेन्द्रप्रसाद अधिकारीले कागजी प्रक्रियामा रित नपुग्दा बेरुजु देखिने हुनाले समस्या निम्तनेतर्फ सजक रहनुपर्नेमा जोड दिनुभयो ।
तालिमका क्रममा वरिष्ठ अधिकृत थापाले सार्वजनिक निकायबाट हुने खर्चमा व्यवस्थित लेखा प्रणाली अनिवार्य रहेको जानकारी गराउँदै ऐन, नियम, कानुन तथा विधिको परिधिभित्र रहेर मात्र खर्च तथा भुक्तानी प्रक्रिया अघि बढाउनुपर्ने सन्दर्भ उल्लेख गर्नुभयो। साथै महानगरपालिकाबाट सहज रूपमा सम्झौता रकम प्राप्त गर्न तोकिएको प्रक्रिया र मापदण्ड पालना गर्नु अनिवार्य रहेको उहाँले स्पष्ट पार्नुभयो।
उहाँले तालिमको मुख्य उद्देश्य महानगरपालिकाको लक्ष्य, उद्देश्य तथा वार्षिक नगर विकास कार्यक्रमलाई नियमितता, मितव्ययिता, कार्यदक्षता र प्रभावकारितासहित कार्यान्वयन गर्न सहयोग पुर्याउँदै विकास निर्माण तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्दा बेरुजु नआउने अवस्था सिर्जना गर्नु तथा वित्तीय सुशासन कायम गर्नु रहेको बताउनुभयो।
कार्यक्रममा सहभागीहरूले केही नियम–कानुनबारे पर्याप्त जानकारी नहुँदा व्यवहारिक कठिनाइ हुने गरेको लगायतका समस्या राखेका थिए। सहभागीहरूको जिज्ञासामा प्रशिक्षकहरूले जवाफ दिँदै समाधानका उपायबारे समेत जानकारी गराएका थिए।





