News Desk
काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्का तीन सदस्यलाई अतिरिक्त कार्यभार तोकेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका मन्त्री कुलमान घिसिङले मङ्गलबार पदबाट राजीनामा दिएपछि ती मन्त्रालयको कार्यभार पुनः बाँडफाँड गरिएको हो।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनीलकुमार सिन्हालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको अतिरिक्त जिम्मेवारी दिएका छन्।
त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यभार वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईंलाई र सहरी विकास मन्त्रालयको जिम्मेवारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामलाई तोकिएको छ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा सो जानकारी दिइएको छ।