News Desk
काठमाडौँ : आज (शुक्रबार) काठमाडौँ उपत्यकामा चिसो अझै बढ्दै गएको छ। सुरुवाती मापनमै उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ५ः४५ बजे गरिएको प्रारम्भिक मापनमा काठमाडौँको न्यूनतम तापक्रम ३ दशमलव शून्य अर्थात ३.० डिग्री सेल्सियस रेकर्ड गरिएको हो।
यो प्रारम्भिक तथ्याङ्क मात्र भएको र आजको आधिकारिक न्यूनतम तापक्रम बिहान ८ः४५ बजे पुनः मापन गरिने महाशाखाले जनाएको छ। त्यस समयसम्म तापक्रम अझै घट्ने सम्भावना रहेको बताइएको छ।
यसअघि हिजो बिहीबार पनि सुरुवाती मापनमा काठमाडौँको न्यूनतम तापक्रम ३.३ डिग्री सेल्सियस देखिएको थियो भने बिहान ८ः४५ बजे पुनः मापन गर्दा घटेर ३ डिग्री सेल्सियसमा पुगेको थियो।
गत मंगलबारदेखि बिहीबारसम्म काठमाडौँको न्यूनतम तापक्रम लगातार ३ डिग्री सेल्सियसकै हाराहारीमा रहँदै आएको थियो। आज भने सुरुवातमै यही स्तरमा पुगेकाले तापक्रम थप घट्न सक्ने अनुमान गरिएको छ।
उता, बिहीबार देशभरकै सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा मापन गरिएको थियो। त्यहाँ तापक्रम माइनस ८ दशमलव १ अर्थात –८.१ डिग्री सेल्सियससम्म झरेको थियो।
मौसम पूर्वानुमान महाशाखाले काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम तापक्रम बिहान ८ः४५ बजे र अधिकतम तापक्रम साँझ ५ः४५ बजे नियमित रूपमा मापन गर्दै आएको छ। न्यूनतम तापक्रम दिनको सबैभन्दा कम र अधिकतम तापक्रम सबैभन्दा बढी पुगेको तापक्रमलाई जनाउँछ।