वर्तमान सरकारमा सहभागी मन्त्रीहरू कुनै पनि दलप्रति पक्षपाती हुन मिल्दैन​ : गृहमन्त्री अर्याल
News Desk
Jan-10 तारिख 06:37 बिहान

तोकिएकै मितिमा निर्वाचन गराउने सरकारको प्रतिबद्धता : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा सहभागी मन्त्रीहरू कुनै पनि दलप्रति पक्षपाती हुन नपाउने स्पष्ट गर्नुभएको छ। गृह मन्त्रालय तथा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा भइरहेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उहाँले सरकारको मुख्य दायित्व तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्नु रहेको बताउनुभयो।

गृहमन्त्री अर्यालले सरकार निर्वाचन प्रक्रियामा पूर्ण रूपमा केन्द्रित भइसकेको भन्दै तोकिएको मितिमा नै निर्वाचन हुने विषयमा कुनै शंका नगर्न सबै सरोकारवालालाई आग्रह गर्नुभयो। उहाँले जेनजी आन्दोलन सुशासन स्थापनाका लागि भएको उल्लेख गर्दै सरकार सुशासन कायम गर्न दृढ संकल्पित रहेको पनि बताउनुभयो।

निर्धारित समयमा निर्वाचन हुन नसके देशले गम्भीर संकटको सामना गर्न सक्ने चेतावनी दिँदै गृहमन्त्री अर्यालले सुरक्षा निकायको मनोबल उच्च राखेर शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सो अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायलाई आवश्यक साधनस्रोतले सक्षम बनाइनुपर्नेमा जोड दिनुभयो।

धेरै पढिएको