News Desk
राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। विसं १७७९ मा जन्मिएका शाहको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने परम्पराअनुसार सरकारले आज सार्वजनिक बिदा दिएको छ।
आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै आज काठमाडौँको सिंहदरबार पश्चिम ढोकाअगाडि रहेको उनको सालिकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरिनेछ। यस अवसरमा उपराष्ट्रपति, सभामुख, राजनीतिक दलका नेताहरू तथा राष्ट्रका विशिष्ट व्यक्तित्वहरूले शुभकामना सन्देश जारी गरेका छन्।
नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा प्रत्येक वर्षझैँ यस वर्ष पनि सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा रहेको राष्ट्र निर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको छ।
तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले सामाजिक, आर्थिक तथा भौगोलिक जटिलताबीच जनताको सहयोग र सहभागितामा छरिएर रहेका बाइसे–चौबीसे राज्यहरूलाई एकीकरण गर्दै आधुनिक नेपालको आधारशिला राखेका थिए। २० वर्षको उमेरमा गद्दीआरोहण गरेका उनले आन्तरिक र बाह्य चुनौतीलाई पराजित गर्दै एकीकरण अभियानलाई सफलतापूर्वक अघि बढाएका थिए। विसं १८३१ मा ५२ वर्षको उमेरमा उनको निधन भएको थियो।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले साझा इतिहास, संस्कृति र राष्ट्रिय गौरवलाई स्मरण गराउँदै विविधताबीचको एकतालाई थप मजबुत बनाउने सन्देश दिन्छ। साथै, राष्ट्र निर्माणका लागि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक हितलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउँदै युवापुस्तामा मातृभूमिप्रति समर्पण, सेवा र जिम्मेवारीको भावना विकास गर्न प्रेरणा दिन्छ।
शाहको एकीकरण अभियानका कारण नेपालको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता अक्षुण्ण रहन सकेको मानिन्छ, जसका कारण नेपाल विश्वका पुराना स्वतन्त्र राष्ट्रहरूमध्ये एक रहन सफल भएको छ। उनका ‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ जस्ता दिव्योपदेश आज पनि सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यूनीकरणका सन्दर्भमा उत्तिकै सान्दर्भिक छन्।
नेपालको भौगोलिक अवस्थालाई दृष्टिगत गर्दै उनले देशलाई ‘दुई ढुङ्गाबीचको तरुल’ को संज्ञा दिएका थिए, जसले आज पनि नेपालको भूराजनीतिक यथार्थ र कूटनीतिक संवेदनशीलतालाई स्पष्ट रूपमा उजागर गर्छ।