News Desk
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष, स्वच्छ र मर्यादित बनाउने उद्देश्यले सामाजिक सञ्जालमा हुने गतिविधिलाई समेत निर्वाचन आचारसंहिताभित्र समेटेको छ। प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गतेका लागि तय गरिएको छ।
आयोगका अनुसार निर्वाचनलाई प्रतिकूल असर पार्ने उद्देश्यले सामाजिक सञ्जालमा कुनै पनि प्रकारका एकाउन्ट सञ्चालन गर्ने, नक्कली वा झुट्टा साइट खोल्ने कार्य निषेध गरिएको छ। साथै, आचारसंहिताले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) प्रयोग गरी वा नगरी सामाजिक सञ्जालमार्फत निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले कसैलाई होच्याउने, बदनाम गर्ने, दुष्प्रचार फैलाउने वा भ्रामक सूचना प्रवाह गर्ने कार्यमा रोक लगाएको छ।
त्यस्तै, सामाजिक सञ्जालमा अपमानजनक अभिव्यक्ति, द्वेषपूर्ण भाषण, भ्रामक टिप्पणी वा गलत सूचना प्रकाशन तथा प्रसारण गर्न नपाइने व्यवस्था पनि आचारसंहितामा समावेश गरिएको छ। कुनै पनि सूचना वा सामग्रीलाई एआईको प्रयोग गरेर वा नगरी तोडमोड गरी निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले पोष्ट, रिपोस्ट, कमेन्ट, प्रतिकमेन्ट, लाइभ स्ट्रिमिङ, ट्याग वा मेन्सन गर्नसमेत निषेध गरिएको छ।
निर्वाचनको विश्वसनीयता कमजोर पार्ने वा निर्वाचन आयोग, आयुक्त तथा कर्मचारीको प्रतिष्ठामा नकारात्मक असर पर्ने गरी आधारहीन आरोप लगाउन नपाइने प्रावधानसमेत आचारसंहितामा राखिएको छ। कसैको चरित्र हत्या गर्ने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानी गर्ने वा यस्तै प्रकृतिका सामग्री कुनै पनि स्वरूपमा उत्पादन, प्रकाशन वा प्रसारण गर्न निषेध गरिएको आयोगले जनाएको छ।
यसका साथै मतदाता तथा मतदाताको गोप्यता भङ्ग गर्ने, निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभावित पार्ने कुनै पनि गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ। निर्वाचन आयोगले आगामी माघ ३ गतेदेखि यो आचारसंहिता औपचारिक रूपमा लागू गर्ने तयारी गरेको छ।