रुकुम पूर्व​बाट​ चुनाव​ ल​ड​ने प्र​च​ण्ड​को घोष​णा
News Desk
Jan-11 तारिख 07:39 बिहान

आसन्न निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी माहोल क्रमशः चर्किँदै गएको छ। यही सन्दर्भमा आइतबार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले रुकुम पश्चिममा ‘एकता सन्देश सभा’ आयोजना गरेको छ। सो सभामा पार्टी संयोजक पुष्पकमल दाहालले आफ्ना पूर्व सहकर्मी जनार्दन शर्माप्रति कडा आलोचना गर्दै रुकुम पूर्वबाट निर्वाचन लड्ने घोषणा समेत गर्नुभएको छ।

विभिन्न साना–ठूला दलसँग एकता गर्दै साविक नेकपा माओवादी केन्द्र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा रूपान्तरण भएपछि रुकुम पश्चिममा पहिलोपटक संयोजक दाहाल र सहसंयोजक माधव नेपालको संयुक्त उपस्थितिमा शनिबार उक्त सभा सम्पन्न भएको हो। कार्यक्रमलाई औपचारिक रूपमा ‘एकता सन्देश सभा’ भनिए पनि यसको राजनीतिक अर्थ र सन्देश निकै गहिरो देखिएको छ।

साविक माओवादी केन्द्रका उपमहासचिव तथा २०६४ सालपछि भएका सबै आम निर्वाचनमा रुकुम पश्चिमबाट निर्वाचित हुँदै आएका जनार्दन शर्मा एकतापछि बनेको नेकपामा नजोडिएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठनतर्फ लागेपछि रुकुम पश्चिमको राजनीतिक समीकरण फेरिएको छ। यसले साविक माओवादीको आधार क्षेत्र मानिने रुकुम पश्चिममा सबैभन्दा ठूलो असर परेको देखिन्छ।

यसै कारण, शनिबारको नेकपा जनसभालाई केवल एकता सन्देशभन्दा पनि जनार्दन शर्मा पार्टीबाट अलग भए पनि साविक माओवादीको ठूलो शक्ति अझै आफ्नो पक्षमै रहेको देखाउने प्रयासका रूपमा हेरिएको छ। सभामा संयोजक दाहालले शर्मालाई ‘भगौडा’ को संज्ञा दिँदै कम्युनिष्ट आन्दोलनलाई धोका दिएको आरोप लगाउनुभएको थियो।

उता प्रलोपा पार्टीले पनि यसअघि जनार्दन शर्माको उपस्थितिमा सदरमुकाम खलंगामा ‘युवा प्रशिक्षण’ कार्यक्रम आयोजना गरिसकेको छ भने पार्टी कार्यालय स्थापना र गाउँ तहसम्म संगठन विस्तारलाई तीव्र बनाएको छ। यसले दुवै पक्षबीच शक्ति प्रदर्शनको होडबाजी चर्किँदै गएको स्पष्ट संकेत गरेको छ।

आगामी निर्वाचनका लागि नेकपाले रुकुम पश्चिमबाट पूर्व कर्णाली प्रदेश सांसद तथा मन्त्री गोपाल शर्मालाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ भने प्रलोपाले जनार्दन शर्मालाई नै चुनावी मैदानमा उतार्ने निर्णय गरिसकेको छ। केही समयअघिसम्म एउटै पार्टी र एउटै मञ्चमा देखिने यी सहकर्मीहरू अब प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिन लागेपछि रुकुम पश्चिमको चुनावी प्रतिस्पर्धा अहिलेसम्मकै रोचक बन्ने देखिएको छ।

साविक माओवादी शक्तिहरूबीच नै प्रतिस्पर्धा हुने भएपछि एमाले, कांग्रेसलगायत अन्य दलहरूले त्यसको फाइदा उठाउँदै जनमत आफ्नो पक्षमा पार्ने रणनीति बनाइरहेका छन्। यद्यपि नेकपाका नेताहरू भने यस क्षेत्रको जनाधार अझै आफ्नो पक्षमै रहेको दाबी गर्छन्।

यसैबीच, दाहालले रुकुम पूर्वबाट आफू निर्वाचन लड्ने पक्कापक्की घोषणा गरेसँगै रुकुम पूर्व र पश्चिम दुवै जिल्लाको आगामी निर्वाचन माहोल विगतको भन्दा फरक र थप चासोपूर्ण हुने संकेत देखिएको छ।

अन्ततः निर्वाचनमा कुन दलका कुन उम्मेदवार विजयी हुने भन्ने प्रश्न त मत परिणामसँगै स्पष्ट हुनेछ। तर यस क्षेत्रका नागरिकहरूको मुख्य चासो भने राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर आधारभूत आवश्यकता पूरा गर्ने, विकासलाई गति दिने र सुशासन कायम गर्ने विषयमै केन्द्रित छ। विगतमा अपेक्षाअनुसार विकास हुन नसकेको गुनासो रहेको यस भेगमा अब आगामी निर्वाचनले नयाँ आशा र दिशानिर्देश दिने अपेक्षा जनतामा देखिन्छ।

पार्टीहरू फुट्ने जुट्ने र नेताहरू मिल्ने छुट्टिने प्रक्रिया नेपाली राजनीतिमा नयाँ होइन। यसले दलीय राजनीतिमा अर्थ राखे पनि आम नागरिकको चाहना भने समृद्धि, स्थायित्व र सुशासन नै हो। त्यसैले आउँदो निर्वाचनमा उम्मेदवार र मतदाता दुवैले यी विषयलाई प्राथमिकतामा राख्नु अपरिहार्य देखिन्छ।