News Desk
काठमाडौंको थापाथलीमा सञ्चालनमा रहेको ब्रिटिश कलेजको सञ्चालन अनुमति खारेज गर्न १२ वटा विद्यार्थी संगठनले माग गरेका छन्। आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले कलेजको अनुमतिपत्र रद्द गर्न सरकारसँग आग्रह गरेका हुन्।
विद्यार्थी संगठनका अनुसार उक्त कलेजले पछिल्लो समय हस्पिटालिटी बिजनेस म्यानेजमेन्टलगायतका शैक्षिक कार्यक्रम अवैध रूपमा सञ्चालन गरेको, अत्यधिक शुल्क असुलेको, सम्झौताभन्दा फरक कोर्स अध्यापन गराएको तथा भर्ना गरिएका विद्यार्थीहरूलाई युएईमा अलपत्र पारेको आरोप लागेको छ।
विज्ञप्तिमा उल्लेख गरिएअनुसार यी समस्याको विरोध गर्दै कलेजमा अध्ययनरत विद्यार्थीहरू लामो समयदेखि आन्दोलनरत छन्। संयुक्त विद्यार्थी संगठनहरूले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै पीडित विद्यार्थीलाई न्याय दिलाउन दबाब दिँदै आए पनि, त्यसको सट्टा राज्य संयन्त्रकै मिलेमतोमा कलेज सञ्चालकहरूले विद्यार्थीहरूमाथि धरपकड र गिरफ्तारी गराउने कार्य गरिरहेको आरोप लगाइएको छ।
विद्यार्थीहरूले आफ्ना समस्या सार्वजनिक गर्दा कलेज प्रशासनले गुण्डा परिचालन गरी धम्की दिने, त्रास देखाउने तथा पीडित विद्यार्थीहरूलाई झूटा र बनावटी मुद्दामा फसाएर हिरासतमा पठाउने जस्ता घृणास्पद गतिविधि गरिरहेको भन्दै संयुक्त विद्यार्थी संगठनले ती कार्यप्रति कडा निन्दा गरेको छ।
यस्ता गतिविधि तत्काल बन्द नगरे संयुक्त विद्यार्थी संगठनको तर्फबाट कडा प्रतिरोध गरिने चेतावनीसमेत दिइएको छ।
विज्ञप्तिमा भनिएको छ, “पीडित विद्यार्थीहरूलाई शीघ्र न्याय दिनुका साथै विद्यार्थीमाथि ठगी गर्ने ब्रिटिश कलेजको अनुमति खारेज गरी सो धन्दामा संलग्न सबैलाई कडा कानुनी कारबाही गरियोस्। यदि विद्यार्थीहरूको न्यायपूर्ण आवाजलाई बेवास्ता गरियो भने शिक्षा क्षेत्रमा बुटको धन्दा चलाउने ब्रिटिश कलेजविरुद्ध अझ कडा संघर्ष गरिनेछ।”
यस विषयमा कलेजमा अध्ययनरत विद्यार्थीहरूले शिक्षा मन्त्रालयमा औपचारिक उजुरीसमेत दर्ता गराइसकेका छन्।