समानुपातिकतर्फका उम्मेदवारहरूले आज अपराह्न ४ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने
News Desk
Jan-12 तारिख 06:36 बिहान

आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत समानुपातिकतर्फका उम्मेदवारहरूले आज अपराह्न ४ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगको सूचना अनुसार राजनीतिक दलले पुस १३ र १४ गते पेश गरेका बन्दसूचीका उम्मेदवारले आयोगबाट स्वीकृत कार्यक्रम अनुसार आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन्। आयोगले सम्बन्धित सबै उम्मेदवारलाई यस विषयमा जानकारी गराएको निर्वाचन अधिकृत कृष्णबहादुर राउतले बताए।

उम्मेदवारहरूले आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजे देखि अपराह्न ४ बजे सम्म निवेदन दिई आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन्। यदि कुनै उम्मेदवार व्यक्तिगत रूपमा उपस्थित हुन नसक्ने भएमा वारेसमार्फत निवेदन पेश गर्न पनि सकिने व्यवस्था गरिएको छ।

बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारहरूले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ अनुसार आवश्यक ढाँचामा निवेदन पेश गर्न सक्नेछन्।

कुल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ जना र समानुपातिक प्रणालीबाट ११० जना सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ।