News Desk
३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०८२ को अवसरमा धरानस्थित विजयपुरगढीबाट धनकुटाको साँगुरीगढीसम्म ऐतिहासिक गढी र एकीकरणको स्मरण गर्दै नेपाली सेनाले आइतबार पदयात्रा सुरु गरेको छ । ‘निशान पदयात्रा’ नाम दिइएको यस यात्राले ऐतिहासिक गढी र किल्लाको महत्व स्मरण गर्दै पूर्वी नेपालको एकीकरण अभियान उजागर गर्ने जनाइएको छ ।
पदयात्राको अवसरमा विजयपुरगढी–साँगुरीगढी दौड आयोजना गरिएको थियो । जसमा पाँच किलोमिटर दौड (महिला र पुरुष ) र १० किलोमिटर दौड (पुरुष÷महिला) विधा समावेश गरिएको थियो । १० किलोमिटर खुल्ला दौडमा पुरुष २३६ जना र महिला ४० जना साथै पाँच किलोमिटर दौडमा छात्र ८० जना र छात्रा ३८ जनाको सहभागिता रहेको थियो ।
दस किलोमिटर दौडमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरियो भने पाँच किलोमिटर दौडमा प्रथम, दोस्रो र तेस्रो हुने महिला, पुरुषलाई क्रमशः १२ हजार, आठ हजार र पाँच हजार रुपैयाँ नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । साथै उत्कृष्ट १० भित्र पर्ने अन्य सहभागीलाई पनि प्रमाणपत्र प्रदान गरिएको नेपाली सेनाले जनाएको छ ।
हरेक वर्ष सञ्चालन हुँदै आएको यस कार्यक्रममा नेपाली सेना, पूर्वीपृतना हेड क्वार्टर इटहरी, श्री नं २ वाहिनी अड्डा, श्री भीमदल गण, श्री भगवतीदल गण, विभिन्न गण, धरान उपमहानगरपालिका, धनकुटा नगरपालिका, पाख्रीबास नगरपालिका र साँगुरीगढी गाउँपालिकाको संयुक्त आयोजना हुने गरेको छ । ऐतिहासिक निशान पदयात्रा आगामी पुस ३० गते धनकुटाको पाख्रिबासमा पुगेर समापन गरिने सेनाले जनाएको छ ।
कार्यक्रममा धरान उपमहानगरपालिकाका नगर प्रमुखहर्कराज साम्पाङ्ग राई, श्री पूर्वीपृतना हेडक्वाटरका पृतनापति उपरथी श्री गौरवकुमार केसी, श्री नं २ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी श्री दिवाकर विक्रम राणा, सुनसरी प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का, सुनसरी श्री भगवतीदल गणका प्रमुख सेनानी श्री राजन भूजु, धनकुटास्थित श्री भीमदल गणका गणपति गणेश थापालगायतको उपस्थिति थियो ।