गृह मन्त्रालयद्वारा प्रमुख जिल्ला अधिकारीसहित आठ कर्मचारीको सरुवा
News Desk
Jan-13 तारिख 06:32 बिहान

काठमाडौँ  | गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित आठ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले आज गरेको निर्णयअनुसार विभिन्न जिल्लामा कार्यरत प्रशासनिक अधिकारीहरूको जिम्मेवारी हेरफेर गरिएको हो।

निर्णयअनुसार हाल डोल्पाका प्रमुख जिल्ला अधिकारी रहेका भीमराज कोइरालालाई पाँचथरको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ। यस्तै, बझाङका प्रमुख जिल्ला अधिकारी कैलाशबहादुर ठकुराठीलाई दैलेखको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

आज साँझ सार्वजनिक गरिएको सरुवा तथा पदस्थापन विवरणमा मन्त्रालयका उपसचिव जुनु हमाल ढकाललाई डोल्पाको प्रमुख जिल्ला अधिकारीमा नियुक्त गरिएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक मुकेशकुमार केशरीलाई बझाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने गृह मन्त्रालयका उपसचिव नवराज बराललाई बागलुङको सहायक प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ।

त्यसैगरी, मन्त्रालयका उपसचिव भविश्वर घिमिरेलाई कपिलवस्तुको सहायक प्रमुख जिल्ला अधिकारीमा खटाइएको छ भने उपसचिव कृष्णप्रसाद गैरेलाई धनुषाको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ। बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलाई गृह मन्त्रालयमा तानिएको छ।

गृह मन्त्रालयका अनुसार प्रशासनिक कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले सरुवा तथा पदस्थापन गरिएको जनाएको छ।