News Desk
काठमाडौँ | सरकारले गोरखापत्र संस्थानको अध्यक्ष पदमा वरिष्ठ पत्रकार गोविन्दप्रसाद भण्डारी (अखण्ड)लाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्रीका प्रमुख स्वकीय सचिव उद्धवप्रसाद भट्टराईका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुस २८ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय पारित गरेको हो। निर्णयमा ‘‘गोरखापत्र संस्थानको अध्यक्ष पदमा भक्तपुर निवासी श्री गोविन्दप्रसाद भण्डारीलाई नियुक्त गर्ने’’ उल्लेख छ।
लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय भण्डारीले निजी मिडियामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। उनी यसअघि अन्नपूर्ण पोष्टका प्रधान सम्पादकका रूपमा कार्यरत थिए।
पत्रकार भण्डारी साहित्यिक क्षेत्रमा पनि परिचित नाम हुन्। उनका ‘समाचारको भाषा’, ‘मलाया एक्सप्रेस’ र ‘बोरा’ शीर्षकका कृतिहरू प्रकाशित छन्। ‘समाचारको भाषा’ पत्रकारिता तथा समाचार लेखनको भाषाशैलीमा केन्द्रित कृति हो भने ‘मलाया एक्सप्रेस’ र ‘बोरा’ उपन्यासका रूपमा प्रकाशित भएका छन्।