समानुपातिकतर्फ ८५ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता
News Desk
Jan-13 तारिख 06:39 बिहान

काठमाडौँ | प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीअन्तर्गत हालसम्म ८५ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। यो संख्या अझै बढ्न सक्ने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगका अनुसार राजनीतिक दलहरूले पुस १३ र १४ गते समानुपातिकतर्फको बन्दसूची पेश गरेका थिए। सोही सूचीमा समावेश उम्मेदवारहरूले स्वयं निर्वाचन आयोगमा उपस्थित भएर वा वारेसमार्फत् उम्मेदवारी फिर्ताको निवेदन दिन सक्ने व्यवस्था छ।

उम्मेदवारी फिर्ता भएको जानकारी आयोगले सम्बन्धित दललाई उपलब्ध गराएपछि दलले सो स्थानमा नयाँ उम्मेदवार सिफारिस गर्न सक्ने प्रावधान रहेको छ।

आगामी प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा हुने तय भएको छ। यस्तै, प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता माघ ६ गतेका लागि तोकिएको निर्वाचन आयोगले जनाएको छ।