आज काठमाडौँका केही स्थानमा अस्थायी रूपमा विद्युत् आपूर्ति अवरुद्ध हुने
News Desk
Jan-14 तारिख 06:01 बिहान

काठमाडौँ | नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका केही स्थानमा अस्थायी रूपमा विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ। प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका तीनवटा फिडर क्षेत्रमा बिजुली कटौती गरिनेछ।

प्राधिकरणका अनुसार गणेशस्थान, भङ्गाल र शिवपुरी फिडर मातहत पर्ने क्षेत्रमा विद्युत् आपूर्ति रोक्का गरिनेछ। फिडरको लोड व्यवस्थापन तथा नयाँ पासिकोट फिडर निर्माणसँगै ब्रेकर जडान र भूमिगत केबल चार्ज गर्ने कार्यका लागि कटौती गर्न लागिएको हो।

सूचना अनुसार गणेशस्थान फिडरअन्तर्गत भोटे चोक र गणेशस्थान आसपासका क्षेत्रमा बिहान ११ः३० बजेदेखि दिउँसो १ः३० बजेसम्म विद्युत् आपूर्ति बन्द रहनेछ। त्यस्तै भङ्गाल फिडरअन्तर्गत तल्लो भङ्गाल, धोविखोला करिडोरलगायत क्षेत्रमा बिहान ११ः३० बजेदेखि दिउँसो १ बजेसम्म बिजुली कटौती हुनेछ।

यसैगरी शिवपुरी फिडरअन्तर्गत बुढानिलकण्ठ नगरपालिकाको पासिकोट, च्यासिङडोललगायत स्थानमा दिउँसो १ बजेदेखि २ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ। तोकिएको प्राविधिक कार्य समयअघि नै सम्पन्न भएमा उल्लेखित समयभन्दा अगावै विद्युत् सेवा पुनः सञ्चालन गरिने जानकारी पनि प्राधिकरणले दिएको छ।