News Desk
नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा काठमाडौँ उपत्यकाका सबै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीले जित हासिल गर्ने दाबी गर्नुभएको छ।
सुमन सायमी नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर)सँग भएको समायोजन कार्यक्रममा बोल्दै संयोजक दाहालले यस्तो धारणा व्यक्त गर्नुभएको हो। उहाँले विगतझैँ ठूला–ठूला सभा आयोजना गर्ने परम्परा अब पुरानो भइसकेको उल्लेख गर्दै आगामी निर्वाचनमा जनतासँग प्रत्यक्ष सम्पर्क हुने घरदैलो अभियानलाई प्राथमिकता दिइने बताउनुभयो।
दाहालले युवा पुस्तालाई आकर्षित गर्न सूचना प्रविधिको अधिकतम प्रयोग गरिने नीति पार्टीले अवलम्बन गर्ने जानकारी दिनुभयो। साथै, विगतमा भएका कमजोरी र गल्तीहरू दोहोरिन नदिने प्रतिबद्धतासहित निर्वाचन प्रचारमा सक्रिय रूपमा जुट्न सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान गर्नुभयो।
उहाँले काठमाडौँ उपत्यकाका सबै निर्वाचन क्षेत्रमा पार्टी विजयी हुने विश्वास व्यक्त गर्दै ठूला सभाभन्दा जनताको घरघरमा पुगेर पार्टीका एजेन्डा स्पष्ट रूपमा बुझाउन आवश्यक रहेको बताउनुभयो। ‘अब ठूलो सभा गरेर मात्रै भोट आउने समय सकिएको छ,’ दाहालले भन्नुभयो, ‘हामी जनताकै घरदैलोमा पुगेर आफ्नो नीति, कार्यक्रम र देशको नेतृत्व गर्ने इच्छाबारे स्पष्ट पार्नेछौँ।’
संयोजक दाहालले काठमाडौँका समस्या राम्रोसँग बुझेका सुमन सायमीलगायतका नेताहरू पार्टीमा समाहित भएकाले पनि काठमाडौँ उपत्यकामा आफ्नो पार्टीको जित सुनिश्चित हुने अवस्था बनेको तर्क गर्नुभयो।