News Desk
काठमाडौं । राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदैछ । नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद भवन जेनजी आन्दोलनका क्रममा आगलागी भई ध्वस्त भएपछि यसपटक अधिवेशन सङ्घीय संसद सचिवालय, सिंहदरबारबाट सञ्चालन गर्न लागिएको हो । पहिलो बैठक आज बिहान ११ बजे बस्नेछ ।
अधिवेशनको तयारीस्वरूप राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको थियो । पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ । साथै, हालै निधन हुनुभएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गरिनेछ ।
सङ्घीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (१) अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को पुस २८ गतेको सिफारिसमा माघ ४ गते आइतबार बिहान ११ बजेका लागि अधिवेशन आह्वान गर्नुभएको हो । यसअघि भदौ ३१ गते राष्ट्रियसभाको १८औँ अधिवेशन अन्त्य भएको थियो ।
यसैबीच, निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभाका १९ सदस्यको निर्वाचनको तयारी पनि अघि बढाएको छ । आयोगका अनुसार एक जना सदस्य निर्विरोध निर्वाचित भइसक्नुभएको छ । प्रतिनिधिसभा तथा राष्ट्रियसभामा नयाँ सदस्यहरू निर्वाचित भएर आउने तयारी भइरहेकाले यो अधिवेशनलाई विशेष महत्वका साथ हेरिएको छ ।