News Desk
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले आफ्नो पदबाट राजीनामा दिएका छन्।
महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसमक्ष साहले राजीनामा पत्र बुझाइसकेको जानकारी महानगरपालिकाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले थाहाखबरलाई दिएका छन्। उनका अनुसार बालेन साहले औपचारिक रूपमा उपप्रमुखसमक्ष राजीनामा पेश गरिसकेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा वरिष्ठ नेताका रूपमा प्रवेश गरेका साह आगामी प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीको निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ बाट चुनावी प्रतिस्पर्धामा उत्रिँदै छन्। यसका लागि रास्वपाले झापामा सम्पर्क कार्यालयसमेत स्थापना गरिसकेको छ।
इन्जिनियरिङ अध्ययन पूरा गरेका र र्यापरका रूपमा समेत परिचित बालेन साह २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर ६१ हजार ७६७ मत प्राप्त गर्दै काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए।
लौरो चुनाव चिह्न लिएर मैदानमा उत्रिएका उनले २०७९ जेठ १६ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि महानगरपालिकाको नेतृत्व सम्हालेका थिए।
यसैबीच, काठमाडौं महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले पनि माघ २ गते पदबाट राजीनामा दिएका छन्। पाण्डेले पनि बालेन साह आबद्ध रास्वपा पार्टीबाटै काठमाडौं क्षेत्रबाट निर्वाचन लड्ने चर्चा चलिरहेको छ।