प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन आज
News Desk
Jan-20 तारिख 06:30 बिहान

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन आज देशभर दर्ता हुँदैछ। निर्वाचन आयोगले १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवारी दर्ताका लागि सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएको छ।

आयोगले उम्मेदवारी दर्ताका क्रममा कुनै किसिमको तडकभडक नगर्न, शान्त र मर्यादित ढंगले निर्वाचन कार्यालयमा उपस्थित हुन सबै राजनीतिक दल तथा उम्मेदवारहरूलाई आग्रह गरेको छ।

उम्मेदवारी दर्तालाई सहज र व्यवस्थित बनाउन आयोगले प्रमुख दल र उम्मेदवारका लागि छुट्टाछुट्टै समयसमेत तोकेको छ। भीडभाड कम गर्ने उद्देश्यले समय निर्धारण गरिएको आयोगले स्पष्ट पारेको छ।

यसअघि आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिसकेको छ। २७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० जना समानुपातिक प्रणालीबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन हुने व्यवस्था छ।

गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले निर्वाचन सम्पन्न गर्न आवश्यक साधन, स्रोत र व्यवस्थापनको जिम्मेवारी पूरा गरेको जनाएको छ। निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरी छनोट प्रक्रिया पनि सुरु भइसकेको छ। अधिकांश राजनीतिक दलले उम्मेदवार टुंगो लगाइसकेका छन् भने बाँकी दलले पनि आज बिहानसम्म छनोट प्रक्रिया पूरा गर्ने तयारी गरेका छन्।

नेपाली कांग्रेसले केही निर्वाचन क्षेत्रमा उम्मेदवार छनोटको काम अझै जारी रहेको जनाएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भने सबै निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरिसकेको बताएको छ। एमाले, नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलहरूले उम्मेदवारलाई आधिकारिक पत्रसमेत प्रदान गरिसकेका छन्।

आयोगको कार्यतालिका अनुसार आज देशभर उम्मेदवारको मनोनयन प्रक्रिया अघि बढ्नेछ। मनोनयनका क्रममा उम्मेदवारले नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। साथै सम्बन्धित गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको प्रमाण पनि आवश्यक हुनेछ।

आयोगले सबै तयारी पूरा भइसकेको जनाउँदै आज देशभर उत्साहपूर्ण वातावरणमा उम्मेदवार मनोनयन हुने विश्वास व्यक्त गरेको छ। विसं २०७९ मा निर्वाचित प्रतिनिधिसभा गत भदौको आन्दोलनपछि विघटन भएपछि नयाँ निर्वाचन हुन लागेको हो।