नारायणी नदी क्षेत्रमा जलपक्षीको संख्या र प्रजाति बढ्यो
News Desk
Jan-20 तारिख 07:04 बिहान

यो वर्ष सम्पन्न जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएका छन्। चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीका अनुसार गत वर्ष ४१ प्रजातिका चरा भेटिएकामा यस वर्ष थप एक प्रजाति वृद्धि भएको हो।

चौधरीले यस वर्ष नारायणी नदी र आसपासका सिमसार क्षेत्रमा चराको संख्या र विविधता दुवै बढेको बताए। उनका अनुसार विज्ञ समूहले गरेको एकीकृत गणनामा नारायणी क्षेत्रमा ४२ प्रजातिका जम्मा १२ हजार ८८७ चरा अभिलेख गरिएको छ।

यसअघि सन् २०२३ मा ४१ प्रजातिका नौ हजार ५४८ चरा र सन् २०२४ मा ४१ प्रजातिका १० हजार २५७ चरा गणना गरिएको थियो। यस वर्ष अघिल्ला वर्षहरूको तुलनामा चराको संख्या उल्लेख्य रूपमा बढ्नुका साथै नयाँ प्रजाति पनि थपिएको संयोजक चौधरीले जानकारी दिए।

नेपालमा हाल ९०३ प्रजातिका चरा सूचीकृत छन्, जसमध्ये १६२ प्रजाति जलपक्षी हुन्। ती जलपक्षीमध्ये यस वर्ष नारायणी नदी क्षेत्रमा ४२ प्रजाति फेला परेको उनले बताए।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) तर्फ पर्ने चितवन राष्ट्रिय निकुञ्ज, नारायणी नदी र आसपासका सिमसार क्षेत्रमा पाँच समूह बनाएर पक्षी गणना गरिएको थियो। सिघ्रौली–अमलटारी, सिघ्रौली–पिठौली, पिठौली-अमलटारी र अमलटारीदेखि त्रिवेणी गण्डक ब्यारेजसम्मका क्षेत्र समेटेर गणना गरिएको हो।

गत वर्षको तुलनामा यस वर्ष समग्र चराको संख्या करिब तीन हजार ३३९ ले बढेको प्रारम्भिक अनुमान गरिएको छ। चौधरीका अनुसार साइबेरियालगायत उत्तरी गोलार्द्धबाट चिसो मौसम छल्न आउने पाहुना चरामध्ये यस वर्ष सबैभन्दा धेरै खोया हाँस देखिएका छन्।