काठमाडौँका १० म​ध्ये ९ निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले उठायो न​या उम्मेदवार
News Desk
Jan-20 तारिख 06:26 बेलुका

नेपाली कांग्रेसले काठमाडौँका सबै १० वटा निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरेको छ। कांग्रेस संसदीय बोर्डको बैठकले राजधानीका सम्पूर्ण क्षेत्रका उम्मेदवारको अन्तिम टुंगो लगाएको हो।

निर्णयअनुसार काठमाडौँ–१ बाट कांग्रेस महासमिति सदस्य प्रवल थापा उम्मेदवार बनेका छन् भने काठमाडौँ–२ मा नेता कविर शर्माले टिकट पाएका छन्। काठमाडौँ–३ मा रमेश अर्याल र काठमाडौँ–४ मा युवा नेता सचिन तिमल्सिनालाई उम्मेदवार बनाइएको छ।

यसैगरी काठमाडौँ–५ मा निवर्तमान सांसद प्रदीप पौडेललाई पुनः टिकट दिइएको छ भने काठमाडौँ–६ मा जिल्ला सभापति कृष्ण सबुज बानियाँ उम्मेदवार चयन भएका छन्। काठमाडौँ–७ मा प्रमोदहरि गुरागाईं र काठमाडौँ–८ मा सपना राजभण्डारीलाई उम्मेदवार बनाइएको छ। राजभण्डारी पूर्वमन्त्री नविन्द्रराज जोशीकी पत्नी हुन् र यसअघि समानुपातिक सांसद रहिसकेकी छन्।

काठमाडौँ–९ मा केन्द्रीय सदस्य नानु बस्तोलालाई उम्मेदवार बनाइएको छ भने काठमाडौँ–१० मा हिमाल कार्कीले कांग्रेसको प्रतिनिधित्व गर्नेछन्। कांग्रेसले काठमाडौँ–५ का प्रदीप पौडेलबाहेक अन्य सबै उम्मेदवारलाई पहिलो पटक प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा उतारेको हो।