सर्लाही–४ मा गगन थापाको उम्मेदवारी वारेसमार्फत दर्ता
News Desk
Jan-21 तारिख 12:23 बिहान

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका छन्। उनले मंगलबार वारेसमार्फत उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेका अनुसार थापाको उम्मेदवारी प्रस्तावकमा उपेन्द्रप्रसाद कुशवाहा र समर्थकमा रामआश्रय साह रहेका छन्। यसअघि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट चुनाव लड्दै आएका थापाले यसपटक अन्तिम निर्णय गर्दै सर्लाही–४ रोजेका हुन्।

समय अभावका कारण थापा स्वयं उपस्थित हुन नसकेपछि नेता वीरेन्द्र सिंह वारेसका रूपमा उम्मेदवारी दर्ता गर्न पुगेको नेता निरोज कार्कीले जानकारी दिए।

यसै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. अमरेशकुमार सिंह, नेकपा (माओवादी केन्द्र)बाट डा. रजनिश यादव, जनता समाजवादी पार्टी नेपालबाट रामेश्वर राय यादव तथा नेकपा (एमाले)बाट रविशंकर कुशवाहाले पनि उम्मेदवारी दर्ता गराएका छन्।