News Desk
गोरखा। गोरखा निर्वाचन क्षेत्र नं. २ मा सचेत र परिवर्तनप्रेमी मतदातालाई लक्षित गर्दै लेखनाथ न्यौउपानेको समर्थनमा जनअपील तीव्र बनेको छ। समर्थकहरूले राजनीति सुविधा र सौदाबाजीबाट होइन, त्याग, बलिदान र विचारबाट जन्मिने भन्दै न्यौउपानेलाई इमानदार र संघर्षशील नेताका रूपमा प्रस्तुत गरेका छन्।
समर्थकहरूका अनुसार गोरखाको माटोबाट उठेका न्यौउपाने जनयुद्धकालदेखि नै दलित, महिला, जनजाति, मुस्लिम र आदिवासी समुदायको अधिकार र पहिचानका लागि भूमिगत संघर्षमा सक्रिय रहे। सोही क्रममा परिवारले अपूरणीय पीडा भोग्नुपरे पनि उनको राजनीतिक प्रतिबद्धता कमजोर नपरेको दाबी गरिएको छ। जनताको पक्षमा उभिँदा चार वर्ष जेल जीवन बिताउनुपरेको तथ्य पनि उनीहरूले स्मरण गराएका छन्।
समर्थक वक्तव्यमा न्यौउपानेलाई भ्रष्टाचारका कुनै विवादमा नपरेको, सालिन र स्पष्ट छविका नेता भनेर उल्लेख गरिएको छ। विद्यार्थी राजनीतिबाट नेतृत्वमा उदाउँदै केन्द्रीय तहसम्म पुगेका उनले शिक्षामा हुने भ्रष्टाचार, चलखेल र बेथितिविरुद्ध निरन्तर आवाज उठाएको दाबी गरिएको छ। राष्ट्रियताको सवालमा सम्झौता नगर्ने खरो आवाजका रूपमा पनि उनको परिचय दिइएको छ।
अपीलमा हालको राजनीतिक प्रतिस्पर्धालाई सन्दर्भ गर्दै पैसाको बलमा राजनीति गर्ने, आपराधिक आरोप खेपेका व्यक्ति वा सत्ता पाएपछि जनताको गुनासो नसुन्ने नेतृत्वप्रति आलोचना गरिएको छ। गोरखा-२ का मतदाता सचेत भइसकेको उल्लेख गर्दै एकछिनको लोभ, लालच र भ्रममा नपरी दीर्घकालीन संघर्ष र इमानदारीको मूल्यांकन गर्न आग्रह गरिएको छ।
समर्थकहरूले गोरखा-२ को उज्यालो भविष्यका लागि बौद्धिक राजनीति र इमानदार संघर्षको प्रतिनिधित्व गर्ने नेतृत्व रोज्नुपर्ने धारणा राख्दै लेखनाथ न्यौउपानेलाई विजयी गराउन आह्वान गरेका छन्।