News Desk
गोरखा। गोरखा निर्वाचन क्षेत्र नं. १ मा सचेत, संघर्षशील र परिवर्तनप्रेमी मतदातालाई लक्षित गर्दै हरिराज अधिकारी ‘कुमार’को पक्षमा जनअपील तीव्र बन्दै गएको छ। समर्थकहरूले परिवर्तन सजिलै नआएको उल्लेख गर्दै दशकौँ लामो जनयुद्ध र निरन्तर संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्न इमानदार र प्रतिबद्ध नेतृत्व आवश्यक रहेको बताएका छन्।
समर्थकहरूको भनाइ अनुसार हरिराज अधिकारी ‘कुमार’ले ४० वर्षभन्दा बढी समय जनताको मुक्ति र परिवर्तनका लागि भूमिगत संघर्षमा बिताएका छन्। सोही क्रममा व्यक्तिगत रूपमा अपूरणीय पीडा भोग्नुपरे पनि उनको राजनीतिक संकल्प कमजोर नपरेको दाबी गरिएको छ। गोरखाको भूगोल, संस्कृति र जनभावनालाई नजिकबाट बुझेका, स्पष्ट वक्ता र दागमुक्त नेताका रूपमा उनलाई प्रस्तुत गरिएको छ।
जनताको समस्या पर्दा सधैँ अग्रपंक्तिमा उभिने नेता भएको उल्लेख गर्दै लार्केपास नाका खुलाउन, सडक विस्तार गर्न तथा उत्तरी भेगको विकासका लागि उनले निरन्तर आवाज उठाउँदै आएको समर्थकहरूको दाबी छ। गोरखा–१ भित्र पर्ने राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी जलविद्युत आयोजनाको सन्दर्भमा प्रभावित जनतालाई उचित मुआब्जा दिलाउन केन्द्रिय राजनीतिमा प्रभावकारी पहुँच राख्ने क्षमता भएको नेताका रूपमा पनि उनलाई चित्रण गरिएको छ।
समर्थक वक्तव्यमा यो निर्वाचन पैसाको बलमा राजनीति गर्ने र उग्र नारामार्फत जनतालाई भ्रममा पार्न खोज्ने प्रवृत्तिबीचको प्रतिस्पर्धा नभई इमानदारी र अवसरवाद, संघर्षशील नेतृत्व र सौदाबाजी गर्ने उम्मेदवारबीचको स्पष्ट छनोट भएको उल्लेख गरिएको छ। सिंहदरबार जलाउने हल्लाभन्दा सिंहदरबारसम्म जनताको आवाज पुर्याउने नेतृत्व आवश्यक रहेको तर्क गरिएको छ।
गोरखा–१ का मतदाता सचेत भइसकेको उल्लेख गर्दै अब संघर्षको इतिहास बुझेको, जनताको पीडा महसुस गर्न सक्ने र विकासको नेतृत्व गर्न सक्ने प्रतिनिधि रोज्नुपर्ने धारणा व्यक्त गरिएको छ। समर्थकहरूले गोरखा–१ को उज्यालो भविष्यका लागि हरिराज अधिकारी ‘कुमार’लाई विजयी गराउन आग्रह गरेका छन्।