News Desk
काठमाडौं। कन्सोर्टियम नेपालले गुड शेफर्ड इन्टरनेशनल फाउन्डेसन नेपालसँगको सहकार्यमा बाल-संवेदनशील पत्रकारितासम्बन्धी दुईदिने कार्यशाला सम्पन्न गरेको छ। काठमाडौंमा जनवरी २० र २१ गते आयोजित कार्यशालामा बालअधिकार र बालबालिका सम्बन्धी विषयमा कार्यरत करिब १५ जना पत्रकार तथा फोटो पत्रकारहरूको सहभागिता रहेको थियो।
कार्यशालामा त्रिभुवन विश्वविद्यालयको पत्रकारिता विभागका प्रमुख प्राध्यापक कुन्दन अर्याल र केन्द्रीय बालकल्याण समिति (सीसीडब्ल्यूबी) का पूर्व कार्यकारी निर्देशक तथा बालअधिकार अभियन्ता तारक धितालले सहजीकरण गरेका थिए। प्रशिक्षकहरूले बालबालिकासँग सम्बन्धित विद्यमान कानुन, नीतिगत व्यवस्था र व्यवहारिक अभ्यासबारे जानकारी गराउँदै पत्रकारितामा अपनाउनुपर्ने बालमैत्री दृष्टिकोणमाथि प्रकाश पारे।

कार्यशालामा आगामी निर्वाचनको सन्दर्भमा बालबालिकाको दुरुपयोग र गलत मार्गदर्शन हुन सक्ने सम्भावनाबारे छलफल गरिएको थियो। साथै, पत्रकारिताको आचारसंहिता, बालमैत्री रिपोर्टिङ, समाचार लेखन र कभरेजका अभ्यास, बालबालिकाको वर्तमान अवस्था, उनीहरूको मौलिक अधिकार तथा बालसम्बन्धी समाचार कभरेजका लागि आवश्यक आधारभूत सीप र चेतनामाथि प्रशिक्षण दिईएको थियो। बालबालिकाको हितका लागि अभिभावक, राज्य, सरकारी निकाय र पत्रकारको भूमिकाबारे पनि सहभागीहरूलाई अवगत गराइएको थियो।
कार्यक्रमको समापन सत्रमा कन्सोर्टियम नेपालका अध्यक्ष प्रदीप कुमार लामिछाने र उपाध्यक्ष अनिता पाण्डेले बालबालिकाको अर्थपूर्ण सहभागिता अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे। उनीहरूले आगामी निर्वाचनमा बालबालिकाको हित र अधिकारलाई केन्द्रमा राखेर समाचार कभरेज गर्न र जनचेतना अभिवृद्धिमा पत्रकारहरूले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए।
सो अवसरमा सहभागी पत्रकारहरुले सिकाई उपलब्धी बारे प्रकाश पार्दै यस्ता कार्यशालाले पत्रकारहरूलाई बालअधिकारप्रति थप संवेदनशील बनाउँदै जिम्मेवार र बालमैत्री पत्रकारिता प्रवर्द्धन गर्न सहयोग पुर्याउने धारणा व्यक्त गरे ।


