News Desk
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा प्रेस काउन्सिल नेपालमा १६३ वटा उजुरी दर्ता भएका छन्। काउन्सिलका अनुसार पुस मसान्तसम्म प्राप्त उजुरीहरूलाई पत्रकार आचारसंहिताअनुसार प्रक्रिया अघि बढाइएको हो।
दर्ता भएका उजुरीमध्ये पत्राचारपछि ७७ वटा खण्डन सम्प्रेषण गरिएका छन् भने ५२ वटा उजुरीमा पेस भएका जवाफ उजुरीकर्तालाई जानकारी गराइएको छ। यस्तै, १४ वटा उजुरीमा क्षमायाचना तथा भूलसुधार गरिएको सहप्रवक्ता रामशरण बोहराले जानकारी दिनुभयो।
यस अवधिमा पाँचवटा सामग्री स्थगन गरिएका छन् भने १० वटालाई स्पष्टीकरण सोधिएको छ। पाँच सञ्चारमाध्यमलाई निर्देशन तथा सचेत गराइएको छ भने एक सञ्चारमाध्यमलाई अवज्ञाकारी (कालोसूची) मा राखी कारबाही गरिएको काउन्सिलले जनाएको छ।
प्रेस काउन्सिलले यसै अवधिमा ६३२ वटा मिडिया, वेबपोर्टल तथा सामाजिक सञ्जालका ७४४ सामग्रीको स्वअनुगमन गरेको छ। तीमध्ये ४४७ वटा मिडिया र १८५ वटा गैरमिडियाका सामग्री रहेका छन्। आचारसंहिता उल्लङ्घनको गम्भीरताका आधारमा १३६ वटा मिडिया र २७ वटा गैरमिडियालाई निर्देशन तथा सचेत गराइएको छ। कुनै पनि सम्पर्क नखुलेका २० वटा गैरमिडियाका हकमा अनुसन्धान गरी कारबाहीका लागि सम्बन्धित निकायमा पत्राचार गरिएको काउन्सिलले जनाएको छ।
काउन्सिलका अनुसार पत्रकार तथा सञ्चारमाध्यमबाट पत्रकार आचारसंहिता पालना भए–नभएको विषयमा नियमित अनुगमन हुँदै आएको छ। निर्वाचन आचारसंहिता लागू भइसकेको सन्दर्भमा अब निर्वाचन आचारसंहिता पालनाको विषयमा विशेष अनुगमन प्रक्रिया सुरु गरिएको विज्ञप्तिमा उल्लेख छ।
निर्वाचनको समयमा राजनीतिक दल तथा उम्मेदवारलाई प्रभाव पार्ने उद्देश्यले आधारहीन, अप्रमाणित र मिथ्या सामग्री, दुष्प्रचार, चरित्रहत्या, होच्याउने तथा द्वेषपूर्ण अभिव्यक्ति (हेट स्पिच) हुने जोखिम रहेकाले त्यस्ता सामग्रीलाई स्थान नदिन काउन्सिलले सञ्चारमाध्यम र पत्रकारलाई सचेत गराएको छ।
यसैगरी तथ्य परीक्षण र प्रमाणबिना सामग्री सम्प्रेषण गर्ने, सामाजिक सञ्जालको दुरुपयोग गरी अफवाह र भ्रम फैलाउने, नियोजित रूपमा गलत तथा तोडमरोड गरिएका सामग्री प्रकाशन गर्ने जस्ता गैरपेसागत र गैरकानुनी कार्य नगर्न प्रेस काउन्सिलले सञ्चारमाध्यम, पत्रकार तथा सञ्चारकर्मीलाई आग्रह गरेको छ।