मानवअधिकार संरक्षणमा नेपाल पूर्ण प्रतिबद्ध : परराष्ट्रसचिव राई
News Desk
Jan-22 तारिख 12:30 बेलुका

परराष्ट्रसचिव अमृतबहादुर राईले मानवअधिकारको संरक्षण र प्रवद्र्धनमा नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट गर्नुभएको छ। मानव अधिकार परिषद्को युनिभर्सल पिरियोडिक रिभ्यु (युपीआर) कार्य समूहको ५१औँ सत्रमा नेपालको राष्ट्रिय प्रतिवेदन प्रस्तुत गर्दै उहाँले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो।

बुधबार जेनेभामा सम्पन्न सत्रमा परराष्ट्रसचिव राईले नागरिक, राजनीतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकारको प्रवद्र्धन र संरक्षणका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि र प्रगतिबारे जानकारी गराउनुभयो। साथै लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरणमार्फत मानवअधिकारको अवस्था थप मजबुत बनाउने दिशामा नेपाल अघि बढिरहेको उहाँको भनाइ थियो।

संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङ्गठनहरूका लागि जेनेभास्थित नेपालको स्थायी नियोगका अनुसार उक्त सत्रमा नेपालका तर्फबाट उच्चस्तरीय सहभागिता रहेको थियो। कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, स्विटजरल्याण्डका लागि नेपालका राजदूत रामप्रसाद सुवेदी तथा परराष्ट्र मन्त्रालय र जेनेभास्थित नेपाली नियोगका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।