News Desk
दाङको तुलसीपुर उपमहानगरपालिका–३ मा रहेको नमूना महिला सामुदायिक वनका सालका रूखहरू यस वर्ष अस्वाभाविक रूपमा सुकेको जस्तो देखिन थालेका छन्। पालुवा पलाउने मौसममै रूखहरू डढेलो लागेको जस्तै देखिनु र करिब २६० हेक्टर क्षेत्रफलमा फैलिएको वनका झन्डै १० प्रतिशत सालका रूख पातविहीन हुनुले स्थानीयमा चिन्ता थपिएको छ।
यस्तै समस्या बबई गाउँपालिकाको पुरन्धारा तथा दङ्गीशरण गाउँपालिकाका केही सामुदायिक वनमा पनि देखिएको छ। विगतका वर्षमा यस्तो अवस्था नदेखिएको भन्दै तुलसीपुर–३ का वडाध्यक्ष वीरबहादुर विकले यस वर्ष अचानक सालका रूखहरू सुक्दै गएको जस्तो देखिनुले स्थानीय समुदायलाई चिन्तित बनाएको बताउनुभयो। उहाँका अनुसार यसको कारण पत्ता लगाउन पहल भइरहेको छ।
डिभिजन वन कार्यालय दाङका वरिष्ठ वन अधिकृत भक्तबहादुर चौधरीले यस वर्ष दाङका वन क्षेत्रमा सालका रूखमा महामारीकै रूपमा समस्या देखिएको जानकारी दिनुभयो। रूखहरू डढेलोले जलेको जस्तो देखिनु र यसलाई नियन्त्रण गर्न कठिनाइ हुनु चुनौतीपूर्ण अवस्था बनेको उहाँको भनाइ छ।
वरिष्ठ वन अधिकृत चौधरीका अनुसार ‘मथ’ नामक पुतलीले सालका रूखका पात खाइदिँदा यस्तो समस्या उत्पन्न भएको हो। चैत–वैशाख महिनामा पात झरेजस्तो देखिए पनि पानी परेपछि पुनः पलाउने सम्भावना रहने उहाँले बताउनुभयो। तर यस्तो अवस्था पटक–पटक दोहोरिए साना रूख सुक्ने र ठूला रूखको वृद्धि समेत प्रभावित हुने चेतावनी दिनुभयो।
समस्या महामारीका रूपमा फैलिन थालेपछि समाधानका लागि सम्बन्धित विभागमा जानकारी पठाइएको भए पनि हालसम्म ठोस प्रतिक्रिया नआएको चौधरीले बताउनुभयो। जिल्लास्तरबाट नियन्त्रण गर्न आवश्यक प्रविधि, विज्ञता र स्रोतसाधनको अभाव रहेको उहाँको भनाइ छ।
एक पुतलीले एकै दिनमा करिब ३०० वटा अण्डा पार्ने भएकाले समस्या तीव्र रूपमा फैलिएको बताउँदै चौधरीले ड्रोन वा हेलिकप्टरमार्फत औषधि छर्कँदा अन्य जीवजन्तु, पशुपक्षी तथा मानव बस्तीमा नकारात्मक असर पर्न सक्ने भएकाले नियन्त्रण थप जटिल बनेको उल्लेख गर्नुभयो। यसलाई जलवायु परिवर्तनको असरका रूपमा पनि लिन सकिने उहाँको धारणा छ।
यसअघि नारायणपुर क्षेत्रका वनमा पनि यस्तै समस्या देखिएर पछि आफैं हराउँदै गएको उदाहरण दिँदै यस पटकको समस्या पनि समयसँगै कम हुन सक्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
दाङ जिल्लामा करिब दुई लाख हेक्टर वन क्षेत्र रहेको छ। तीमध्ये एक लाख ९२ हजार ६८२ हेक्टर सघन वन र आठ हजार ४३ हेक्टर बुट्यान क्षेत्र छन्। जिल्लामा ३६९ सामुदायिक वन रहेका छन्, जसबाट करिब ८० हजार घरपरिवार लाभान्वित छन्। यसैगरी १५३ हेक्टरमा फैलिएका छ वटा धार्मिक वन र ११२ हेक्टर क्षेत्रफलमा फैलिएका २४० निजी वन रहेका छन्। हाल जिल्लाका १५ देखि २० वटा सामुदायिक वनमा सालका रूखमा यस्तो समस्या देखिएको छ।