News Desk
म्याग्दीको बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले झन्डै एक दशक लामो प्रतीक्षापछि आमाको नामबाट नेपाली नागरिकता प्राप्त गर्न सफल हुनुभएको छ। जिल्ला प्रशासन कार्यालय म्याग्दीले मङ्गलबार उनीहरूलाई आमा मनिरजा बेगमको नामबाट नागरिकता प्रदान गरेको हो।
नागरिकताका लागि समिरले ११ वर्षअघि र यास्मिनले आठ वर्षअघि नै प्रशासनदेखि गृह मन्त्रालयसम्म आवश्यक सबै प्रक्रिया पूरा गरी आवेदन पेस गर्नुभएको थियो। नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधन कार्यान्वयनमा आएपछि उनीहरूलाई आमाको नामबाट नागरिकता दिन सम्भव भएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले जानकारी दिनुभयो।
समिर र यास्मिनकी आमा मनिरजा बेगम नेपाली नागरिक हुनुहुन्छ भने उहाँका पति सलिम खान भारतको कलकत्ताका नागरिक हुनुहुन्थ्यो। करिब ३४ वर्षअघि विवाह भएपछि मनिरजा बेनीमै शृङ्गार व्यवसाय गर्दै आउनुभएको छ। सलिम खानले भारतीय नागरिकता त्यागिसकेको र विसं २०५२ तथा २०६४ मा नेपालमा भएका निर्वाचनमा मतदानसमेत गरिसकेको बताइएको छ।
समिर र यास्मिनको जन्मदर्ता साबिक अर्थुङ्गे गाविसमा रहेको छ। दुवैले उच्च शिक्षा हासिल गरे तापनि नागरिकता नहुँदा पेसा, व्यवसाय सञ्चालन, रोजगारी तथा वैदेशिक रोजगारीका अवसरबाट वञ्चित हुनुपरेको थियो। नागरिकता पाएपछि बल्ल आफूहरूलाई पूर्ण नागरिक भएको अनुभूति भएको उनीहरूको प्रतिक्रिया छ।
नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ राजपत्रमा प्रकाशित भएसँगै नागरिकता ऐन २०६३ का प्रावधानहरू व्यवहारमा कार्यान्वयनमा आएका हुन्। यसअघि पुस २९ गते मालिका गाउँपालिका–५ देविस्थानकी २२ वर्षीया सीमा पुनले जिल्लामै पहिलो पटक आमाको नामबाट नागरिकता प्राप्त गर्नुभएको थियो।