News Desk
आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचन हुन अब ४१ दिन मात्र बाँकी छ। निर्वाचन प्रक्रियाअन्तर्गत उम्मेदवारी दर्ता गराएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म आफ्नो नाम फिर्ता लिन पाउनेछन्।
निर्वाचन आयोगका अनुसार उम्मेदवारी फिर्ता लिने समय आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्धारण गरिएको छ। त्यसपछि दिउँसो १ देखि ३ बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिनेछ।
आयोगले दिएको जानकारीअनुसार आजै अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ।
यसअघि माघ ६ गते देशभरका १६५ निर्वाचन क्षेत्रमा कुल तीन हजार ४८६ जनाले उम्मेदवारी दर्ता गराएका थिए। तीमध्ये तीन हजार ८९ पुरुष, तीन सय ९६ महिला र एक जना अन्य वर्गका उम्मेदवार रहेका छन्।