News Desk
भक्तपुरको सानोथlठिमीमा रहेको बाल सुधार गृह बस्न अयोग्य हुने गरी क्षति पुगेपछि त्यहाँ राखिएका १६९ जना बालबिज्याइँकर्तालाई आजै भक्तपुर र काठमाडौँका जिल्ला प्रहरी परिसर अन्तर्गतका प्रहरी हिरासतमा स्थानान्तरण गरिएको छ।
बिहीबार राति करिब १० बजेदेखि सुधार गृहभित्र झडप, आगजनी र तोडफोड सुरु भई रातभर जारी रहेपछि भवनका सबै संरचनामा गम्भीर क्षति पुगेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो। तत्काल सुधार गृह प्रयोग गर्न नमिल्ने अवस्था बनेपछि बालबिज्याइँकर्तालाई अस्थायी रूपमा प्रहरी हिरासतमा सारिएको उहाँले बताउनुभयो।
हाल बालबिज्याइँकर्तालाई भक्तपुर र काठमाडौँका प्रहरी हिरासतभित्र रहेका बाल निगरानी कक्षमा राखिएको र सुधार गृहमा भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। क्षतिग्रस्त संरचना पुनर्निर्माण भएपछि उनीहरूलाई पुनः सुधार गृहमै स्थानान्तरण गरिने प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार राति भएको झडपमा आठ जना बालबिज्याइँकर्ता र २० जना प्रहरी घाइते भएका छन्। घाइतेमध्ये सात जना बालबिज्याइँकर्ताको नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ भने एक जनाको उपचार जारी रहेको छ।
प्रहरीका अनुसार बालबिज्याइँकर्ताले नै सुधार गृहभित्र आगजनी गरेपछि भक्तपुरबाट गएको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। स्थिति नियन्त्रणमा लिन पुगेको प्रहरीमाथि सुधार गृहभित्रबाट ढुङ्गामुढा भएपछि झडप चर्किएको जनाइएको छ।
सुधार गृहमा १८ वर्षभन्दा माथिका ८४ जना युवा र २४ जना बालिका समेत रहेका थिए। कानुनी जटिलताका कारण १८ वर्ष नाघेका बालबिज्याइँकर्तालाई कारागार चलान गर्न नसकिँदा ३५ वर्षसम्मका युवासमेत एउटै सुधार गृहमा बस्दै आएको कर्मचारीहरूको भनाइ छ। यसले महिला बालबिज्याइँकर्ताको सुरक्षामा थप चुनौती सिर्जना गरेको बताइएको छ।
यसअघि पनि सानोथिमिस्थित सुधार गृहमा पटक–पटक झडप, कुटपिट, तोडफोड र भाग्ने घटनाहरू दोहोरिँदै आएका छन्। सुधार गृहभित्र प्रहरी प्रवेश गर्न नपाउने, रासन दिएपछि बालबिज्याइँकर्ताले आफैं पालो बनाएर खाना पकाउने र भित्रै अध्ययन गर्ने व्यवस्था रहे पनि दीर्घकालीन व्यवस्थापन कमजोर रहेको कर्मचारीहरूको गुनासो छ।
उता, सानोथिमि आसपासका स्थानीय बासिन्दाले भने सुधार गृहलाई बस्तीको बीचबाट अन्यत्र स्थानान्तरण गर्न माग गरेका छन्। पटक–पटक हुने झडप, आगजनी र ढुङ्गा हानाहानका कारण स्थानीयमा त्रास फैलिएको र सुधार गृहभित्रबाट हानिएका ढुङ्गाले घरमा क्षति पुग्ने गरेको भन्दै उनीहरूले सुधार गृह सार्न आग्रह गरेका हुन्।