News Desk
मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङ र राप्रपाका उम्मेदवार कुविरसिंह गुरुङले औपचारिक रूपमा उम्मेदवारी फिर्ताको निवेदन दर्ता गराएका हुन्। मनाङ निर्वाचन क्षेत्रमा कुल पाँच जनाले उम्मेदवारी दर्ता गराएका थिए, जसमध्ये दुई जनाले उम्मेदवारी फिर्ता लिएपछि अब तीन जनाको उम्मेदवारी कायम रहनेछ।
सहायक निर्वाचन अधिकृत दीपक दाहालले हाल नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार यशोदा गुरुङ (सुवेदी) र मंगोल नेशनल अर्गनाइजेशनका रामबहादुर घलेको मनोनयन कायम रहेको जानकारी दिनुभयो।
अब यी तीन उम्मेदवारबीच मनाङमा प्रतिनिधि सभा सदस्य पदका लागि प्रतिस्पर्धा हुने भएको छ।