न्यायालय जल्यो तर न्याय जलेको छैन : प्रधानन्यायाधीश राउत​
News Desk
Jan-24 तारिख 01:10 बेलुका

पोखरा । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयमा आगलागी भए पनि नागरिकलाई प्रदान गरिने न्याय कहिल्यै नजलेको स्पष्ट पार्नुभएको छ। उच्च अदालत पोखरा–बागलुङ इजालसको नवनिर्मित अत्याधुनिक भवनको उद्घाटन समारोहमा बोल्दै उहाँले न्यायालय ध्वस्त पार्ने प्रयासलाई हिंसात्मक र सुनियोजित कार्यको संज्ञा दिनुभयो।

प्रधानन्यायाधीश राउतका अनुसार सर्वोच्च अदालतमा आगलागीबाट जलेका करिब २० हजार मिसिलमध्ये १४ हजारभन्दा बढी पुनः तयार भइसकेका छन्। ती मिसिल विद्वान् अधिवक्ता, बार इकाइ तथा सरकारी वकिल कार्यालयको सहयोगमा प्राप्त भएकाले न्यायालय पुनः सशक्त रूपमा उभिएको उहाँको भनाइ थियो।

न्यायालयप्रति नागरिकको भरोसा भवन निर्माणले मात्र नभई प्रभावकारी सेवा प्रवाहबाट बढ्ने उल्लेख गर्दै उहाँले सुविधासम्पन्न संरचनासँगै गुणस्तरीय र सन्तोषजनक सेवा दिनु अपरिहार्य रहेकोमा जोड दिनुभयो।

जेन–जी आन्दोलनपछि देश संवेदनशील अवस्थामा पुगेको उल्लेख गर्दै प्रधानन्यायाधीश राउतले न्यायिक सेवामा निर्मम समीक्षा आवश्यक भएको धारणा राख्नुभयो। राज्यका तीनवटै अङ्गमाथि भएको आगजनी सुनियोजित भए पनि न्यायालयले पुनः आफ्नो गति लिइसकेको उहाँले बताउनुभयो।

उहाँले सर्वोच्च अदालत पुरानै लयमा फर्किन थालेको उल्लेख गर्दै न्यायाधीश र कर्मचारीलाई ढुक्क भएर नागरिकको सेवा प्रवाहमा समर्पित हुन आग्रह गर्नुभयो। साथै, थप परिमार्जनसहित न्यायिक सेवाको गुणस्तर अभिवृद्धि गर्न सबैलाई सक्रिय हुनुपर्ने उहाँको भनाइ थियो।